काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले विजयी सुरुआत गर्न सकेन। न्यू जर्सीस्थित मेटलाइफ रंगशालामा भएको समूह ‘सी’ को खेलमा ब्राजिल अफ्रिकी टोली मोरक्कोसँग १–१ गोलको बराबरीमा रोकिएको हो।
खेलको २१औँ मिनेटमा इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए। त्यसपछि ३२औँ मिनेटमा भिनिसियस जुनियरले बराबरी गोल गर्दै ब्राजिललाई खेलमा फर्काए। ब्रुनो गुइमाराएसको पासमा भिनिसियसले गोल गरेका हुन्।
मध्यान्तरसम्म ब्राजिलले ५४ प्रतिशत बल नियन्त्रण राखेको थियो भने खेल सकिँदा त्यो ५२ प्रतिशतमा झरेको थियो। दोस्रो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल निस्कन नसक्दा अंक बाँड्न बाध्य भए।
सातौँ विश्वकप खेलिरहेको मोरक्कोलाई यस संस्करणको सम्भावित ‘डार्क हर्स’ का रूपमा हेरिएको छ। उता, ब्राजिलका स्टार खेलाडी नेइमार भने ‘काल्फ इन्जुरी’ का कारण मैदानमा उपस्थित थिएनन्।
यता, समूह चरणकै अर्को खेलमा कतारले अन्तिम समयमा गोल फर्काउँदै स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेल्दै विश्वकपमा महत्वपूर्ण अंक जोडेको छ।
क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा भएको खेलमा स्विट्जरल्यान्डले १७औँ मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो। कतारी गोलकिपर महमूद अबुनादाले डिबक्सभित्र विपक्षी खेलाडीलाई लडाएपछि प्राप्त पेनाल्टीलाई ब्रेल एम्बोलोले गोलमा परिणत गरेका थिए।
खेलभर स्विट्जरल्यान्डले दबाब कायम राख्दै बल नियन्त्रण र अवसर सिर्जनामा प्रभुत्व जमाए पनि दोस्रो गोल गर्न सकेन। त्यसको फाइदा उठाउँदै कतारले इन्जुरी समयमा बराबरी गोल फर्कायो। अतिरिक्त समयमा बोउलेम खोउखीले हेडमार्फत गोल गर्दै कतारलाई हारबाट जोगाए।
सन् २०२२ को विश्वकपमा आयोजक राष्ट्रका रूपमा खेलेको कतारले त्यसबेला कुनै अंक जोड्न सकेको थिएन। तर यसपटक छनोट चरण पार गरेर विश्वकप पुगेको कतारले पहिलो खेलमै स्विट्जरल्यान्डबाट अंक खोस्दै सुखद सुरुआत गरेको छ।