बाँके । राप्तीसोनारी गाउँपालिकाको सञ्चार नीतिको मस्यौदामाथि कार्यपालिका र शाखा प्रमुखहरुसंग अन्तरक्रिया गरिएको छ । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षता एवम् पालिकाका कार्यबहाक अध्यक्ष मनिषा सिंह थारुको प्रमुख आतिथ्यतामा विहिबार गाउँपालिकाको सभाहलमा छलफल गरिएको हो ।
राप्तीसोनारी गाउँपालिकाले नेपाल पत्रकार महासंघ बाँकेलाई सञ्चार नीति निर्माणको जिम्मा दिएको छ । त्यही अनुसार कार्यपालिका र शाखा प्रमुखहरुसंग छलफल गरिएको सचिव कृष्ण ओलीले बताए । त्यस अघि पत्रकार महासंघ जिल्ला कार्यसमिति र पत्रकारहरुसंग विभिन्न चरणमा मस्यौदा उपर सुझाब संकलन गरिएको थियो । बुधबार मात्रै कोहलपुरमा पत्रकारहरुसंग अन्तरक्रिया गरिएको थियो ।
गाउँपालिकाका कार्यबहाक अध्यक्ष थारुले सञ्चार नीतिको मस्यौदा ब्यवहारिक र कार्यान्वयनयोग्य रहेको बताउँदै पालिकाले त्यसलाई ग्रहण गरेर अगाडि बढाउने प्रतिबद्धता जनाइन् । उनले सञ्चार क्षेत्रको विकासका लागि प्रतिबद्ध रहँदै आएको बताउँदै अब सञ्चार नीतिले निश्चित बाटो तय गर्न सहयोग पुग्ने उल्लेख गरिन् । विधायन समिति संयोजक एवम् वडा नम्बर ७ का वडा अध्यक्ष रामलखन थारुले सञ्चार नीतिको आवश्यकता महसूस भइरहेको सन्दर्भमा महासंघले अगुवाई गरी सञ्चार नीति निर्माण गर्न लागेकोमा खुसी ब्यक्त गरे ।
महासंघ अध्यक्ष गिरीले स्थानीय मिडिया र मिडियाकर्मीको विकास र व्यवस्थापनका लागि सञ्चार नीतिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरे । उनले सञ्चार नीति मार्गदर्शक दस्तावेज भएको बताउँदै सञ्चार क्षेत्रको विकासका लागि यसले निश्चित गोरेटो तय गर्ने बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, कार्यपालिका सदस्यहरु, शाखा प्रमुख, कर्मचारी, पत्रकार लगायतको सहभागिता थियो ।
महासंघले अध्यक्ष गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ । समितिमा महासंघका सचिव ओली र पत्रकार प्रियास्मृति ढकाल सदस्य छन् । मस्यौदा समितिका सदस्य ढकालले मस्यौदा प्रस्तुत गरेका थिए । त्यसक्रममा कार्यपालिका सदस्य र शाखा प्रमुखहरुले विभिन्न पृष्ठपोषण प्रदान गरेका थिए । सञ्चार नीति पालिकाले पारित गरी कार्यान्वयनमा ल्याउनेछ ।