नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीको अध्यक्षतामा आइतबार गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरीले पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख चौधरीले समुदायमा अझै पनि खोपप्रतिको चेतनाको कमी रहेको भन्दै जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरू सबैको पहल आवश्यक रहेको बताए । उनले समुदायमा खोपसम्बन्धी सेवाबाट कुनै पनि बालबालिका वञ्चित हुन नदिन पालिका प्रतिबद्ध रहनुपर्नेमा जोड दिए । गाउँपालिकाका अध्यक्ष चौधरीले स्वास्थ्य क्षेत्रलाई पालिकाले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । उनले भोलिका देशका भविष्य बोकेका बालबालिकाहरुलाई स्वस्थ राख्न खोप अनिवार्य आवश्यक रहेकोमा जोड दिए ।
पालिकाभित्र रहेका १५ वर्ष मुनिका १ हजार ५२ जना र १६ देखि २३ महिनाभित्रका ८ सय ३१ जना बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै आवश्यक खोप प्राप्त गरेपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरीले बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की, डुडुवा गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष आमोद तिवारी, प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार पाण्डे, वडा सदस्य सुष्मा यादव, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत देवनारायण उपाध्याय, नेपाल पत्रकार महासंघका अध्यक्ष नवीन गिरी लगायतको सहभागिता रहेको थियो । सो अवसरमा सेवा निवृत्त ५ जना कर्मचारीलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा सिनियर अनमी संगिता वर्मा, पवन कुमारी बाहुनी, सुमनलता सिंह, खड्क नाथ सापकोटा र महिला स्वयंसेविका प्रेम कुमारी अधिकारी छन् । त्यसैगरी स्वास्थ्य केन्द्रका प्रमुख तथा पालिकाका सबै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि सम्मानित गरिएको स्वास्थ्य शाखा प्रमुख चौधरीले बताए ।