काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकपमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको औपचारिक बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार विशेष कार्यक्रमको आयोजना गर्दै टोलीलाई सफल यात्राको शुभकामना सहित बिदाइ गरेको हो।
विश्वकपअघि तयारीलाई अझ धारिलो बनाउने उद्देश्यले नेपाली टोलीले श्रीलंका र भारतमा अभ्यास शृंखला खेल्ने भएकाले टोलीलाई समयमै बिदाइ गरिएको क्यानले जनाएको छ। नेपाली टोली आइतबार नै गन्तव्यतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।
बिदाइ समारोहमा क्यानका सचिव पारस खड्काले विश्वकप नेपाली क्रिकेटका लागि महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै टोलीलाई शुभकामना दिए। उनले नेपालले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेको भन्दै भारतमा नेपाली समर्थकहरूको उत्साहजनक साथ पाउने विश्वास व्यक्त गरे।
टोलीका कप्तान रोहित पौडेलले तयारी सन्तोषजनक रहेको बताए। अभ्यास खेलहरूले टोलीलाई आत्मविश्वास दिएको उल्लेख गर्दै उनले अघिल्लो वर्षजस्तै यस वर्ष पनि नेपाली क्रिकेटका लागि सकारात्मक नतिजा ल्याउने आशा व्यक्त गरे। उनले विश्वकपमा सम्पूर्ण नेपालीलाई गर्व गराउने लक्ष्य रहेको पनि बताए।
प्रमुख प्रशिक्षक स्टुअर्ट लले अभ्यास शृंखलामार्फत रणनीति अन्तिम रूप दिइने र विश्वकपमा प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने प्रतिबद्धता जनाए। उनले राम्रो खेलमार्फत नेपाली समर्थकहरूलाई खुसी दिन चाहेको बताए।
क्यान अध्यक्ष चतुरबहादुर चन्दले पनि टोलीको तयारी सशक्त देखिएको उल्लेख गर्दै भारतको कन्डिसन नेपालसँग मिल्ने भएकाले राम्रो प्रदर्शनको अपेक्षा गरिएको बताए।
नेपाली टोलीले विश्वकपको समूह चरणमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। विश्वकपअघि श्रीलंका पुगेर श्रीलंका ‘ए’ टोलीसँग तथा भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट ११ विरुद्ध अभ्यास खेल खेल्ने कार्यक्रम तय भएको छ।
यसअघि नै कप्तान रोहित पौडेलको नेतृत्वमा विश्वकपका लागि नेपाली टोलीको घोषणा भइसकेको छ।