काठमाडौँ। नेपाल आयल निगमले डिजेल र मट्टितेलको खुद्रा मूल्यमा सानो समायोजन गर्दै प्रतिलिटर एक रुपैयाँले घटाउने निर्णय गरेपछि आजदेखि नयाँ मूल्य लागू हुनेछ ।
समायोजनपछि पहिलो श्रेणीका डिपोहरूमा डिजेल–मट्टितेलको खुद्रा मूल्य प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा तोकिएको छ। दोस्रो श्रेणीका डिपोहरूमा १४५ रुपैयाँ र तेस्रो श्रेणीमा १४६ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जस्थित डिपोलाई पहिलो श्रेणी, सुर्खेत र दाङलाई दोस्रो श्रेणी तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो श्रेणीमा वर्गीकृत गरेको छ।
यससँगै हवाई इन्धनको मूल्यमा भने उल्टो समायोजन भएको छ। निगमका अनुसार आन्तरिक उडानका लागि हवाई इन्धन प्रतिलिटर १३४ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँमा प्रतिकिलोलिटर १,०१५ अमेरिकी डलर कायम गरिएको छ, जुन अघिल्लो दरभन्दा ४२ डलरले बढी हो।
भारतको इन्डियन आयल कर्पोरेशन (आईओसी बाट आएको नयाँ खरिद मूल्यअनुसार डिजेल–मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ ४४ पैसा घटे पनि हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ ६२ पैसा वृद्धि भएकोले खुद्रा दर परिमार्जन गर्नुपरेको निगमले स्पष्ट गरेको छ।