काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलमा बुधबार एउटामात्र खेल हुँदैछ । आज अपरान्ह चौथो खेलमा काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।खेल अपरान्ह ४ बजेदेखि त्रिवि क्रिकेट मैदानको फ्लड लाइटमा हुनेछ ।
काठमाडौँको जारी लिगमा यो दोस्रो खेल हुनेछ भने सुदूरले पहिलो खेल खेल्न लागेको हो । पहिलो खेलमा काठमाडौँले साविक विजेता जनकपुर बोल्टसलाई ५ विकेटले हराएको थियो।
काठमाडौँको कप्तानी करण केसीले गरेका छन् भने सुदूरपश्चिमको नेतृत्व दिपेन्द्र सिंह ऐरीले गरेका छन् । सुदूर साविक उपविजेता हो । काठमाडौँमा करणसँगै भीम सार्की, मोहम्मद आदिल आलम, शाहब आलम, बेन चाल्र्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, जोन सिम्पसन र सन्नी पटेलजस्ता खेलाडीहरू समावेश छन्। काठमाडौँको प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक मोन्टी देशाइ रहेका छन्।
साविक उपविजेता सुदूरपश्चिम रोयल्समा दीपेन्द्रसँगै विनोद भण्डारी, अविनाश बोहरा, जोश ब्राउन, स्कट कुगेइलिन, क्रिस लिन, आरिफ शेख, हर्मित सिंह र हिम्मत महरा जस्ता प्रमुख खेलाडीहरू छन्। सुदूरपश्चिमको प्रशिक्षकमा जगत टमाटा रहेका छन्।
आठ टिम सहभागी एनपीएलमा अहिलेसम्म काठमाडौँ, चितवन र विराटनगर शतप्रतिशत नतिजासहित क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । जनकपुर, पोखरा र कर्णाली अंकविहीन छन् । आठौँ टिम लुम्बिनी लायन्सले अहिलेसम्म खेलेको छैन ।
यसअघिका खेलको नतिजाः
तेस्रो खेलमा विराटनगरले पोखरालाई हरायो ५३ रनले
एनपीएलको तेस्रो खेलमा विराटनगर किङ्ग्स विजयी भएको छ । विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले हरायो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले अहिलेसम्मकै सर्वाधिक रन जोड्ने क्रममा ६ विकेटको क्षतिमा २२० रन बनायो ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा दोस्रो विकेटका लागि १३२ रनको साझेदारी गर्ने क्रममा लोकेश बमले ४८ बलमा ७२ तथा मार्टिन गप्टिलले ३५ बलमा ६१ रन जोडे ।
त्यस्तै शुभम रन्जनेले १६ बलमा ३८ तथा बसिरअहमदले १३ बलमा २३ रन बनाए । माट टेलरले २ विकेट लिए । जवाफमा पोखराले १८ ओभर ५ बलमा अलआउट हुँदै १६७ रनमा समेटियो । कप्तान कुशल भुर्तेलले ३१ बलमा ५९ तथा एडम रोसिङटनले २१ बलमा ३९ रन बनाए।
विराटनगरका सन्दीप लामिछाने, प्रतिस जीसी, शभम रन्जने र मर्चेन्ट डे लाङ्गेले समान २ विकेट लिए ।
दोस्रो खेलमा चितवनले कर्णालीलाई हरायो
नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । दोस्रो संस्करणको दोस्रो खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा भएको खेलमा चितवनले १६७ रनको चुनौती ६ विकेटको क्षतिमा १९ ओभर १ बलमा पूरा गरेको हो । रवि बोपाराले ३६ बलमा सर्वाधिक ५२ रन बनाए ।
त्यस्तै दीपक बोहराले ३६ बलमा ४२ तथा सैफ जैबले १६ बलमा ३८ रन बनाए । कप्तान कुशल मल्लले १५ बलमा २० रन जोडे । कप्तान सोमपाल कामीले सर्वाधिक २ विकेट लिए ।
यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनायो । ओपनिङ ब्याट्सम्यान भारतीय प्रियांक पन्चालले ४८ बलमा ९० रन बनाए । पवन सर्राफले १६ बलमा अविजित रहँदै २७ रन जोडे ।
चितवनका सोइल तन्भिर, सैफ जेब र रवि बोपाराले एक एक विकेट लिए । चितवनको नेतृत्व कुशल मल्लले तथा कर्णालीको नेतृत्व सोमपाल कामीले गरेका हुन् ।
पहिलो खेलमा काठमाडौँले हरायो जनकपुरलाई
उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स पराजित भएको छ । जनकपुरलाई काठमाडौँ गोर्खाजले ५ विकेटले पराजित गरेको हो । खेलमा टस जितेर काठमाडौँले पहिले बलिङ गरेसँगै ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन बनायो । जनकपुरका लागि आसिफ शेखले ४१ बलमा ५४ रन बनाए । जारी एनपीएलको यो पहिलो अर्धशतक हो । जनकपुरका अन्य ब्याटर भने जम्न सकेनन् ।
तर ७८ रन बनाउँदा ५ विकेट गुमाइसकेको जनकपुरका लागि छैटौँ विकेटका लागि ४८ रनको साझेदारी गर्ने क्रममा मायान यादवले २९ बलमा ३४ तथा लहिरु सामाराकूनले २१ बलमा २२ रन बनाए ।
काठमाडौँका लागि अमेरिकी खेलाडी मिलिन्द कुमारले ३ विकेट लिए । जवाफमा काठमाडौँले १८ ओभरमै ५ विकेटको क्षतिमा जित हासिल गर्यो । काठमाडौँका लागि बेन चार्लस्वर्थले २३ बलमा ४६ तथा आकाश त्रिपाठीले ४५ बलमा ३९ रन जोडे । अलराउन्डर मिलिन्द कुमारले २२ बलमा १९ रन जोडे । जोन सिम्पसनले ६ बलमा १३ रन जोडे ।