काठमाडौं । दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई रोमाञ्चक खेल हुने भएका छन्।
दिनको पहिलो खेल बिहान ११:४५ बजे सुरु हुनेछ, जसमा चितवन राइनोजले कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, दोस्रो भिडन्तमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्। प्रतियोगिताको सुरुआती चरणमै चारै टिम उत्कृष्ट शुरुवातको खोजीमा रहनेछन्।
चितवन राइनोजलाई कुशल मल्लले नेतृत्व गर्नेछन् भने कर्णाली याक्सका कप्तान सोमपाल कामी रहनेछन्। विराटनगर किंग्स सन्दीप लामिछानेको कप्तानीमा उत्रिँदैछ भने पोखरा एभेन्जर्सलाई कुशल भुर्तेलले मैदानमा दिशा दिनेछन्।
गत संस्करणमा चितवन र कर्णाली दुई पटक भिडेका थिए, दुवै खेलमा कर्णालीले विजयी हात पारेको थियो।
उस्तै, विराटनगर र पोखराबीच भएको एक मात्र खेल पोखराले जितेको थियो, जसमा रेमन रेइफर उत्कृष्ट प्रदर्शन गर्दै नायक बनेका थिए। रेइफर यसपटक पनि पोखराकै टोलीमा आवद्ध छन्।
यसअघि सोमबार सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गर्दै काठमाडौं गोर्खाजले विजयी सुरुआत गरिसकेको छ। जितपछि काठमाडौंले अंकतालिकामा दुई अंक जोडेको छ।
क्यानको आयोजनामा मंसिर १ गतेबाट सुरु भएको यो प्रतियोगिताको फाइनल मंसिर २७ मा आयोजना हुनेछ। विजयी टिमले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्यानले जनाएको छ।