नरैनापुर। बाँकेस्थित नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले गाउँपालिकाको दीर्घकालीन विकासका लागि लुम्बिनी प्रदेशका प्रमुख नेतृत्वसँग उच्चस्तरको पहल बढाएका छन्। मुख्यमन्त्रीदेखि मन्त्रीहरूसँग निरन्तर भेटवार्ता गर्दै अध्यक्ष शाहले आधारभूत पूर्वाधार, स्वास्थ्य, शिक्षा र खेलकुद क्षेत्रको रूपान्तरणका लागि आवश्यक बजेट र परियोजना स्वीकृतिको औपचारिक आग्रह गरेका छन्।
गाउँपालिकामा निर्माणाधीन १५ शैयाको अस्पताल अन्तिम चरणमा पुगे पनि उपकरण र जनशक्ति अभावले सेवा सञ्चालन चुनौती बनेपछि अध्यक्ष शाहले मुख्यमन्त्री चेतनारायण आचार्य र स्वास्थ्य मन्त्री खेमबहादुर सारुसँग भेट गरी मागपत्र बुझाएका छन्। मन्त्री सारुले अस्पताललाई प्रदेश सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उपकरण, जनशक्ति र सहयोग तुरुन्त सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् ।
अध्यक्ष शाहले अस्पताल तयार भएर पनि उपकरण अभावमा सेवा दिन नसक्नु नागरिकका लागि अन्याय भएको बताए। आवश्यक सहयोग जुटेपछि समस्या समाधानतर्फ अघि बढ्ने विश्वास उनले व्यक्त गरे।
अध्यक्ष शाहले नरैनापुरको दीर्घकालीन समृद्धिसँग जोडिने स्टेडियम र नरैनापुर–२ आदर्श मावि जाने सडक निर्माणलाई पनि प्राथमिकतामा राखेका छन्। यस विषयमा उनले खेलकुद मन्त्री सन्तोष कुमार पाण्डे र भौतिक पूर्वाधार मन्त्री भुमिश्वर ढकालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। खेलकुद मन्त्री पाण्डेले सीमावर्ती क्षेत्रका युवामा खेलकुदको सम्भावना उच्च रहेको भन्दै स्टेडियम निर्माणका लागि आवश्यक बजेट र प्राविधिक सहयोगमा मन्त्रालय गम्भीर रहेको बताए। भौतिक पूर्वाधार मन्त्री ढकालले आदर्श मावि जाने सडक निर्माणलाई प्रदेशको दीर्घकालीन योजनासँग जोडेर अघि बढाइने जानकारी दिए।
अध्यक्ष शाहले मुख्यमन्त्री आचार्यसँग भेट गरी नरैनापुरका प्रमुख परियोजनामा आवश्यक बजेट विनियोजनको माग पनि गरेका छन्। मुख्यमन्त्रीले नरैनापुर जस्तो सम्भावनायुक्त क्षेत्र पछि पर्न नदिने र आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीका अनुसार अध्यक्ष शाहको सक्रिय पहलले नरैनापुरका महत्वपूर्ण परियोजनामा गति आएको छ। अस्पताल, स्टेडियम र सडक निर्माणजस्ता योजनाले भविष्यमा गाउँपालिकाको समग्र विकासलाई दिशा दिने विश्वास व्यक्त गरिएको छ।
प्रदेश र संघीय सरकारसँगको निरन्तर समन्वयमार्फत “समृद्ध नरैनापुर” को लक्ष्य साकार हुने अपेक्षा गरिएको छ।