नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकामा स्वास्थ्यकर्मी सामना क्षेत्रीको समर्पणले गाउँका आमाबाबु र बालबालिकाको जीवनमा नयाँ आशा जगाएको छ ।
गाउँपालिका–१ स्थित स्वास्थ्य चौकीमा कार्यरत अनमी सामना क्षेत्री नवजात शिशुको स्वास्थ्य परीक्षणमा व्यस्त देखिन्छिन् । सामनाको आत्मीय व्यवहार र समर्पणले गाउँका महिलाहरूमा स्वास्थ्य सेवाप्रति भरोसा बढाएको छ । पहिले जोखिम मोलेर घरमै बच्चा जन्माउने आमाहरू अहिले स्वास्थ्य चौकीमै सुरक्षित प्रसूति गरिरहेका छन्, जसले मातृमृत्यु दरमा कमी ल्याएको छ ।
सामना र उनको टोली रातदिन प्रसूति सेवा, नवजात शिशुको हेरचाह र मातृस्वास्थ्य सचेतनामै खटिन्छन् । उनीले भनिन् -“नियमित स्वास्थ्य परीक्षण र सुरक्षित प्रसूति सेवाले ग्रामीण महिलामा आत्मविश्वास बढाएको छ।” चालु आर्थिक वर्षको चार महिनामा मात्र सो स्वास्थ्य चौकीमार्फत ७३ जना शिशुको जन्म भइसकेको छ ।
स्वास्थ्य चौकी इन्चार्ज दिनेश मौर्यका अनुसार सबै आमाहरूलाई सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन निरन्तर प्रयास भइरहेको छ । स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले दक्ष स्वास्थ्यकर्मी परिचालनका कारण गाउँकै चौकीहरू २४ घण्टा सञ्चालनमा रहेको बताए ।
गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले स्वास्थ्यकर्मीको निरन्तर प्रयासले गाउँको स्वास्थ्य क्षेत्रमा रूपान्तरण आएको बताए । प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले वडास्तरका जनप्रतिनिधि र इकाइहरूलाई सेवा प्रवाहमा जिम्मेवार बन्न आग्रह गरे ।
नरैनापुरका बासिन्दा भन्छन्, “अब शहर जानु पर्दैन, हाम्रो गाउँमै जीवन जोगाउने हातहरू छन्।” नरैनापुर–६ का इन्चार्ज भरत गोराथोकीका अनुसार साउनदेखि कार्तिक २४ गतेसम्म ८० आमाले सुरक्षित प्रसूति गरेका छन् । यस्तै, नरैनापुर–२ मा ४९, वडा नं. ४ मा ७३ र वडा नं.५ मा ८९ आमाले सुरक्षित प्रसूति सेवा प्राप्त गरेका छन् ।
तर, केही वडामा रकम निकासामा ढिलाइका कारण स्वास्थ्यकर्मीहरूलाई टर्चको उज्यालोमा प्रसूति सेवा दिनुपर्ने बाध्यता रहेको स्वास्थ्य संयोजक शाहले बताए । यसबारे प्रमुख प्रशासकीय अधिकृत वलीले सेवामा असर पर्ने कार्य नगर्न निर्देशन दिँदै आवश्यक रकम तत्काल निकासा गर्ने बताएका छन् ।