कञ्चनपुर ब्युरो । कञ्चनपुरको लालझाडी गाउँपालिकामा एक युवककाे मृत्यु प्रकरणमा प्रहरीसहित दुईजना कारागार चलान भएका छन् । लालझाडी गाउँपालिका– ३ बल्मीका २५ वर्षीय राजकुमार राना मृत्यु प्रकरणमा प्रहरीका एक सहायक हवल्दारसहित दुईजना कारागार चलान भएका हुन् ।
राजकुमार मृत्यु प्रकरणमा पक्राउ पक्राउ परेका प्रहरी सहायक हवल्दार महेश चौधरी र अर्का युवक चेतराम भण्डारी पुर्पक्षका लागि कारागार चलान भएका हुन् । २८ असोज ०८० मा लालझाडीका राजकुमार कृष्णपुर नगरपालिकाको एक सामुदायिक वनमा मृत फेला परेका थिए । राजकुमार मृत्यु प्रकरणमा चार महिनापछि मृतककी श्रीमती सुशीला रानाले किटानी दिएकी थिइन् । उक्त किटानीकै आधारमा गत माघ अन्तिम साता चौधरी र भण्डारी पक्राउ परेका थिए ।
पक्राउ परेका चौधरी र भण्डारीविरुद्धमा प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले मृतक राजकुमारकी श्रीमती सुशीलाले दिएको किटानीका आधारमा चौधरी र भण्डारीलाई पक्राउ गरेर सरकारी वकिलमा मुद्दा दर्ता गरेको बताए । बिहीबार भएको थुनछेक बहसमा चौधरी र भण्डारीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रवक्ता डाँगीले बताए । पाँच महिनाअघि सडेगलेको अवस्थामा मृत फेला परेका राजकुमारको सुरुवातमै हत्या भएको आशंका गरिएको थियो ।
महेन्द्रनगर । गत असोजको १९ गते कञ्चनपुरको लालझाडीमा भएको एक घटनामा इलाका प्रहरी कार्यालय झलारी र जिल्ला सरकारी वकिल कार्यालयले पीडित परिवारको किटानी जाहेरी नलिएपछि हुलाकबाट पठाइएको छ ।
सो दिनदेखि बेपत्ता भएका लालझाडी गाउँपालिका–३ बलमीका २५ वर्षीय राजकुमार रानाको शव एक सातपछि २८ असोजमा कृष्णपुर नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्ने जंगलमा सडेगलेको अवस्थामा पाइएको थियो ।
परिवारजनले सुरुदेखि नै राजकुमारको हत्या नै भएको आशंका गरे पनि अहिले किटानी जाहेरी दिन खोजिरहेका थिए । प्रहरीले उनीहरुको किटानी जाहेरी दर्ता नगरेपछि मृतककी पत्नि सुशिला रानाले सरकारी वकिल कार्यालयमा जाहेरी दर्ता गर्न खोजेकी थिइन् ।
सरकारी वकिलले समेत जाहेरी दर्ता नगरेपछि सोमबार सुशिलाले हुलाकमार्फत् सरकारी वकिल कार्यालयमा जाहेरी पठाएकी छन् ।
‘झलारी इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर साबले किटानी जाहेरीमा लेखिएका नाम हटाए मात्रै दर्ता गर्ने भन्नुभयो’ मृतक राजकुमारका दाजु प्रेम रानाले भने, ‘झलारीमा जाहेरी दर्ता नभएपछि सरकारी वकिल कार्यालयमा आयौं तर त्यहाँ पनि जाहेरी दर्ता गरिएन ।’
मृतककी पत्नि शुसीलाले हुलाकमार्फत् पठाएको जाहेरीमा नेपाल प्रहरीमा कार्यरत महेश चौधरी र कञ्चनपुरको कृष्णपुर नगरपालिकाका वासिन्दा चेतराज भण्डारी लगायतले आफ्नो पतिको हत्या गरेको दावी गरेकी छन् ।
प्रहरी र सरकारी वकिलले जाहेरी नलिएपछि हुलाकमार्फत् पठाउन आफू बाध्य भएको सुशिलाको भनाई छ । ‘अब अदालतसम्मै पुगेर पनि जाहेरी दर्ता गराउँछौं’, उनले भनिन् ।
प्रहरीले महेश र चेतराजबाट आर्थिक लाभ लिएर राजकुमारको हत्याका वास्तविक दोषी उम्काउन खोजेको सुशिलाको आरोप छ ।
यस्तो थियो घटना !
असोज १९ गते साँझ पख । कैलालीको धनगढी नगरपालिका–१३ कैलारी गाउँका धोके रानालाई उनका साढुदाईको फोन आउँछ ।
कञ्चनपुरको लालझाडी गाउँपालिका–३ बलमीका २५ वर्षीय राजकुमार रानाले अत्तालिँदै आफ्ना साढुभाई धोकेलाई भने – साढु मलाई ब्यूरो वालाले लखेटिरहेका छन्, म भाग्दै छु, विचवा पुगेर फोन गर्छु, मलाई लिन मान्छे पठाइदिनु ।
१ मिनेटभन्दा कममैं राजकुमारको फोन काटियो । केही साता पहिले मात्रै सडक दुर्घटनामा परेर खुट्टा चलाउन नसक्ने अवस्थामा रहेका धोके राजकुमारको फोन कुरेर बसे तर फेरि राजकुमारले फोन गरेनन् ।
भोलिपल्ट बिहान राजकुमारकै फोनबाट उनकी धर्मपत्नि सुशीलालाई ३ पटक फोन गयो । सुशीलाले फोन उठाउँदा अर्कोतर्फबाट कोही बोल्दैन थियो, मोबाइलमा टाइप गरेजस्तो आवाज मात्रै आउँथ्यो ।
राजकुमारको फोनबाट उनका भान्जा कमल रानालाई पनि १ पटक फोन गएको थियो तर कमलसँग पनि कुराकानी नभएको सुशीला बताउँछिन् ।
त्यसपछि राजकुमारको मोबाइल सधैंका लागि अफ भयो ।
र, त्यसको १ सातापछि २८ गते कृष्णपुर नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्ने जंगलमा सडेगलेको अवस्थामा राजकुमारको शव भेटियो ।
शव भेटिएपछि परिवारजनमा सुरु भयो राजकुमारको मृत्यु हत्या, आत्महत्या वा दुर्घटना के हो भन्ने चासो ।
त्यसैबीच ९७६६३९३००१ बाट राजकुमारका सहोदर दाई मदन रानालाई फोन आयो । आफूलाई चेत भण्डारी बताउने व्यक्तिले फोन गरेका थिए ।
भण्डारी र मदनबीच रानाथारु भाषामा भएको सम्वादको अडियो क्लिप हामीलाई प्राप्त भएको छ । उक्त सम्वादका अनुसार राजकुमारलाई ‘सीआइडी’ले लखेट्दै गरेको आफूले देखेको भण्डारीले मदनसँगको कुराकानीमा बताएका छन् ।
भण्डारीले अडियोमा राजकुमार मोटरसाइकल छोडेर जंगलमा पसेको बताएका छन् । ‘मोटरसाइकल सीआइडीले लगेको हुनुपर्छ’ भण्डारीले मदनसँग भनेका छन् ।