बाँके । नेपालगन्ज उपमहानगरपालिकाको न्यायिक समितिमा न्याय निरुपणको कामलाई सक्रियतापूर्वक अगाडि बढाएको छ ।
समितिमा न्याय निरुपणका लागि परेका निवेदनउपर छानबिन गरी छलफलमार्फत कारबाही अगाडि बढाइएको समितिले जनाएको छ ।
स्थानीय तहको दोस्रो निर्वाचनबाट नगर उपप्रमुख निर्वाचित भएर आउनुभएका कमरुद्दिन राईले न्यायिक समितिलाई सक्रिय ढङ्गले क्रियाशील बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले न्यायिक समितिमा परेका उजुरीउपर नियमित इजलाश बसेर समाधानको खोजी गरिने र प्रत्येक शुक्रबार इजालाश बसेर न्याय निरुपण गरिने बताउनुभयो ।
उहाँ निर्वाचित भएर आएपछि पहिलोपटक गत इजलाश बसेर पाँच वटा उजुरीउपर आवश्यक कारबाही अगाडि बढाएको कानुन अधिकृत माया शर्माले बताउनुभयो ।
उहाँका अनुसार जग्गा अतिक्रमण, सार्वजनिक ठाउँमा संरचना निर्माण, पारिश्रमिक नपाएकोलगायतका विषयमा न्यायिक समितिले विभिन्न विभिन्न समस्या समाधान गर्दै आएको छ ।
छोराछोरीको सहमतिबिना विवाहका लागि मागनी भएको विवाह रद्द भएपछि सामानको क्षतिपूर्ति दिलाइ पाउँ भनी परेको उजुरीउपर न्यायिक समितिले छलफल गरी उक्त सामान बराबरको रकम उपलब्ध गराउन न्यायिक समितिले आदेश गरेको छ ।
नेपालगन्ज–५ का तरतिल खातुनले आइतेलाल थापालगायतले आफ्नो जग्गा अतिक्रमण गरेको उजुरी न्यायिक समितिमा परेकोमा पहिलो इजलाशले अमिनबाट नापजाँच गरी प्रतिवेदन पेस गर्न आदेश दिएको कानुन अधिकृत शर्माले जानकारी दिनभयो ।
न्यायिक समितिमा उप्रमुख राई संयोजक तथा राजकुमार साहु र वसन्तकुमार कनोजिया सदस्य रहनुभको छ ।