काठमाडौ् । वि.सं.२०८१ मंसिर १६ गते बिहान ड्युटीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक (सई) लक्ष्मणप्रसाद यादवको ज्यान लिएको घटनापछि फरार रहेका मुख्य अभियुक्त २२ महिनापछि प्रहरीको गोली लागेर पक्राउ परेका छन्।
भारततर्फ मदिरा तस्करी भइरहेको सूचनाका आधारमा सिरहाको बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरी टोलीले गाडी जाँच गर्न खोज्दा भारतीय नम्बर प्लेटको डीएल ५ सीजे ७१७१ नम्बरको टाटा सफारीले सई यादवलाई ज्यान मार्ने उद्देश्यले ठक्कर दिएको थियो। गाडीले किचिएपछि गम्भीर घाइते भएका यादवको मृत्यु भएको थियो।
त्यसपछि फरार रहेका मुख्य अभियुक्त भारतको बिहारस्थित मधुवनी जिल्लाको ललबनियाँ थाना घोडमोहना घर भई सिरहाको नवराजपुर गाउँपालिका–५ बस्ने मोहम्मद मोकिन मंसुरीका छोरा ३७ वर्षीय मोहम्मद कुरवान मंसुरीलाई लामो खोजीपछि पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय महेशपुरपतारका प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा खटिएको टोलीले असोज ३ गते साँझ करिब ५ः१० बजे सोही बरियारपट्टी–१ कचनारीस्थित नेपाल–भारत सीमा नजिक कुरवानलाई फेला पारेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
नियन्त्रणमा लिन खोज्दा कुरवानसहित तीन जनाले प्रहरीतर्फ एक राउण्ड गोली चलाएर भाग्ने प्रयास गरेका थिए। त्यसपछि प्रहरीले जवाफी कारबाहीका क्रममा तीन राउण्ड गोली चलाउँदा कुरवानको बायाँ हातको कुहिना र दाहिने खुट्टाको घुँडामा लागेको जनाइएको छ।
गोली लागेर घाइते भएका कुरवानलाई नियन्त्रणमा लिएर उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्याइएको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
कुरवानविरुद्ध ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग, सवारी ज्यान तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा रहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न भई फरार रहेका अन्य व्यक्तिको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ।