नेपालगन्ज । बाँकेमा करिब एक महिनाअघिदेखि सञ्चालन गरिएको लागूऔषधविरुद्धको अपरेसनका क्रममा ५१ ग्राम बढी खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्।
विशेष अपरेसनका क्रममा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार साँझ कोहलपुर नगरपालिका–१० बाट १०.७८० ग्राम खैरो हेरोइनसहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ का १९ वर्षीय प्रिन्स शाही र बाँकेको राप्तीसोनारी गाउँपालिका–३ का २८ वर्षीय लाहुराम थारुलाई पक्राउ गरेको थियो।
उनीहरूमाथि अनुसन्धान गर्ने क्रममा लागूऔषध कारोबारमा थप व्यक्ति संलग्न रहेको खुलेपछि ब्यूरो र बाँके प्रहरीको टोलीले आज नेपालगञ्ज उपमहानगरपालिका–३ बाट सोही स्थानकै ३५ वर्षीय मोहमद रहिम अन्सारीलाई ४०.७६० ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ।
ब्यूरोका अनुसार अनुसन्धानका क्रममा लागूऔषध कारोबारमा संलग्नहरूले पछिल्लो समय नयाँ शैली अपनाएको समेत खुलेको प्रहरीले जनाएको छ। स्टेशनरीका सामान काठमाडौं पठाउने र त्यसभित्र किताब तथा कापीको बीचमा लागूऔषध लुकाउनेदेखि पेनभित्र समेत ब्राउन सुगर तथा खैरो हेरोइन राखेर पठाउने गरेको खुलेको हो। यस्तो शैलीबाट भइरहेको लागूऔषध ओसारपसारलाई समेत लागूऔषध नियन्त्रण ब्युरो र प्रहरीले नियन्त्रणमा लिन सफल भएको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जानकारी दिएको छ।
पक्राउ परेका तीनै जनाबाट गरी कुल ५१.५४० ग्राम खैरो हेरोइन, एक थान डिजिटल तराजु, नेपाली रुपैयाँ ९९ हजार र भारतीय रुपैयाँ १ लाख ४६ हजार गरी कुल नेपाली मूल्य ३ लाख ३२ हजार ६ सय रुपैयाँसमेत बरामद गरिएको ब्यूरोले जनाएको छ।
यसैगरी उनीहरुले प्रयोग गरेको भे ३ प ५३५१ र भे १५ प ५३१ नम्बरका दुईवटा मोटरसाइकल समेत बरामद गरिएको लागूऔषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाइएको कोटेश्वर ब्यूरोले जनाएको छ।