दाङ । दाङ प्रहरीले चार दिनसम्म सञ्चालन गरेको विशेष अपरेशनका क्रममा जिल्लाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा लुकाइछिपाइ राखिएका ५५ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ।
विशेष सूचनाका आधारमा साउन १६ देखि १९ गतेसम्म सञ्चालन गरिएको अपरेशनमा जिल्लाका विभिन्न प्रहरी कार्यालयबाट खटिएका टोलीले बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाका जंगल तथा ओढारमा लुकाएर राखिएका भरुवा बन्दुक फेला पारी बरामद गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको टोलीले बंगलाचुली गाउँपालिकाका सोडिङ छेडा, फलाते, मुर्कुटी, आरुणी, मौवालेख र ल्वाडे–भत्कुले क्षेत्रका सामुदायिक वन तथा ओढारबाट जम्मा ३० नाल भरुवा बन्दुक बरामद गरेको छ भने इलाका प्रहरी कार्यालय अमिलियाको टोलीले लमही नगरपालिका–९ तरुलियास्थित बिरह सामुदायिक वनको खैरेनी जंगलबाट ७ नाल भरुवा बन्दुक फेला पारेको हो।
प्रहरी चौकी रामपुरबाट खटिएको टोलीले बंगलाचुली गाउँपालिका–६ ठुलीचौरस्थित राष्ट्रिय वन र वडा नं- ८ पाँचपोखरीस्थित न्यु कालिका सामुदायिक वनबाट १३ नाल भरुवा बन्दुक बरामद गरेको दाङ प्रहरीले जनाएको छ।
यस्तै, प्रहरी चौकी हासिपुरको टोलीले बंगलाचुली गाउँपालिका–८ स्थित नव चेतनशील सामुदायिक वन र न्यु कालिका सामुदायिक वनबाट थप ५ नाल भरुवा बन्दुक बरामद गरेको छ।
दाङ प्रहरीका अनुसार जिल्लाका विभिन्न जंगलमा लुकाइछिपाइ राखिएका अवैध हातहतियार नियन्त्रणका लागि सञ्चालन गरिएको विशेष अपरेशनका क्रममा यी बन्दुक बरामद गरिएको हो। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको दाङ प्रहरीले जनाएको छ।बरामद भएका बन्दुक कसले र कुन उद्देश्यका लागि लुकाएर राखेको भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।