बाँके । लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगञ्जले सञ्चालन गरेको विशेष अपरेसनमा आधा किलोभन्दा बढी खैरो हेरोइनसहित दुई जना लागूऔषध कारोबारी पक्राउ परेका छन्। ब्यूरोले उनीहरूको साथबाट लाखौं रुपैयाँ नगद समेत बरामद गरेको छ। पछिल्लो समय गरिएको यस अपरेसनबाट ब्यूरोलाई ठुलो सफलता मिलेको हो।
ब्यूरोका कमाण्डर प्रहरी सहायक निरीक्षक नवीन कुमार शाहीको नेतृत्वमा खटिएको टोलीले नेपालगञ्ज उपमहानगरपालिका–४ का ३० वर्षीय सुशील भण्डारी र वडा नं.१० का ५५ वर्षीय अरुण कुमार जयसवाललाई ५२६ ग्राम २९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो।
विशेष सुराकीका आधारमा सोमबार बिहान करिब साढे ११ बजे नेपालगञ्ज–४ स्थित न्यूरोड नजिकबाट सुरुमाअ सुशील भण्डारीलाई नियन्त्रणमा लिइएको थियो। उनको शरीर खानतलासी गर्दा ४२ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन र एक थान मोबाइल बरामद भएको लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगञ्जले जनाएको छ।
सुशीलको बयानका आधारमा ब्यूरोले अरुण कुमार जयसवाललाई पनि पक्राउ गरेको थियो। उनको साथबाट ९४ ग्राम ५०० मिलिग्राम खैरो हेरोइन, एक थान डिजिटल तराजु र एक थान मोबाइल बरामद गरिएको थियो। त्यसपछि जयसवालको डेरा कोठामा खानतलासी गर्दा दराजभित्र लुकाइराखिएको अवस्थामा थप ३८९ ग्राम ४५० मिलिग्राम खैरो हेरोइन फेला परेको थियो। यससँगै बरामद खैरो हेरोइनको कुल परिमाण ५२६ ग्राम २९० मिलिग्राम पुगेको ब्यूरोले जनाएको छ।
प्रहरी सहायक निरीक्षक शाहीको टोलीले उनीहरूको साथबाट नेपाली रु.१ लाख ८० हजार र भारतीय रु.२ लाख १ हजार ४०० समेत बरामद गरेको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको ब्यूरो कार्यालयले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूले भारतबाट खैरो हेरोइन नेपाल भित्र्याई बाँकेसहित विभिन्न जिल्लामा बिक्री–वितरण गर्ने योजना बनाएको खुलेको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगञ्जको टोलीले समयमै अपरेसन सञ्चालन गर्दै ठूलो परिमाणको खैरो हेरोइन बरामद गरी उक्त नेटवर्कलाई धक्का दिन सफल भएको छ। प्रहरीले यसबाट ठूलो संख्यामा युवायुवती लागूऔषधको कुलतमा फसिनबाट जोगिएको विश्वास गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगञ्जका प्रहरी सहायक निरीक्षक शाहीको नेतृत्वमा खटिएको टोलीले पछिल्लो समय बाँके, बर्दिया र दाङलगायत जिल्लामा विशेष अपरेसन सञ्चालन गर्दै ठूलो परिमाणमा लागूऔषध बरामद गर्नुका साथै लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न उल्लेखनीय सफलता हासिल गर्दै आएको छ।