बुटवल । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक(इन्स्पेक्टर)कनकबहादुर शाही २०८३ साल जेठ महिनाका लागि ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ घोषित भएका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले लुम्बिनी प्रदेशभर कार्यरत ट्राफिक प्रहरी कर्मचारीमध्ये उत्कृष्ट कार्यसम्पादनका आधारमा प्रहरी निरीक्षक शाहीलाई बेस्ट ट्राफिक पुलिस अफ द मन्थ प्रदान गरेको हो।
जेठ महिनाभर शाहेले ट्राफिक नियमको पालना गराउने, सडक अनुशासन कायम गर्ने तथा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी नेतृत्व गरेका थिए। सो अवधिमा चालक, परिचालक तथा सवारीधनीलाई लक्षित गरी १५० वटा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो।
त्यसैगरी ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ८७७ वटा सवारी साधनमाथि कारबाही गर्दै रु. १५ लाख ९९ हजार राजस्व संकलन गरिएको थियो। स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने ३ वटा मोटरसाइकलमाथि कारबाही, २३९ वटा सवारी साधनको यान्त्रिक परीक्षण तथा कारबाही, अटो तथा ई–रिक्साको व्यवस्थापन र सडक सुरक्षा प्रवर्द्धनमा समेत उल्लेखनीय काम भएको कार्यालयले जनाएको छ।
सांगठनिक नीति तथा निर्देशनअनुसार प्रदान गरिएको जिम्मेवारीलाई उच्च व्यावसायिकताका साथ सम्पन्न गरी उत्कृष्ट कार्यसम्पादन गरेको मूल्याङ्कनपछि प्रहरी निरीक्षक शाहीलाई २०८३ साल जेठ महिनाको ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ घोषणा गरिएको हो।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरीक्षक निशान थापाले प्रहरी निरीक्षक शाहीलाई उत्कृष्ट प्रदेश ट्राफिक प्रहरी घोषित भएकोमा बधाई तथा शुभकामना व्यक्त गरेका छन्।