नेपालगञ्ज । बाँकेमा १ सय ५ दिनको अवधिमा भएका सवारी दुर्घटनामा १६ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्ष ०८२-०८३ को फागुनदेखि जेठ १४ गतेसम्म जिल्लामा ९६ वटा सवारी दुर्घटना हुँदा १६ जनाले ज्यान गुमाएका हुन्।
ती दुर्घटनामा १२ पुरुष, २ महिला र २ बालकको मृत्यु भएको छ भने ७३ जना गम्भीर र ४७ जना सामान्य घाइते भएका छन्।
गत फागुन महिनामा ३३ वटा दुर्घटना हुँदा ४ जनाको मृत्यु, २२ जना गम्भीर र २४ जना सामान्य घाइते भएका थिए। चैतमा पनि ३३ वटा दुर्घटना हुँदा ६ जनाको मृत्यु, २७ जना गम्भीर र १९ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ।
यसैगरी, वैशाखमा २० वटा दुर्घटनामा ४ जनाको मृत्यु, १६ जना गम्भीर र २ जना सामान्य घाइते भएका छन् भने जेठ १४ गतेसम्म १० वटा दुर्घटनामा २ जनाको मृत्यु, ८ जना गम्भीर र २ जना सामान्य घाइते भएका ट्राफिक प्रहरीले जानकारी दिएको छ।
ट्राफिक प्रहरीका अनुसार दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल संलग्न रहेका छन्। उक्त अवधिमा ७७ वटा मोटरसाइकल दुर्घटनामा परेका छन्। साथै जिप - कार १९ वटा, टेम्पो १४ वटा, ट्रक तथा ट्यांकर ५ वटा, टिपर ३ वटा, बस ३ वटा, माइक्रो ४ वटा, ट्र्याक्टर ४ वटा, डोजर तथा स्काभेटर १ वटा र १२ वटा अन्य सवारी साधन दुर्घटनामा संलग्न रहेका छन्।
ट्राफिक प्रहरीले यस अवधिमा मादक पदार्थ सेवन (मापसे) गर्ने ९९ जना चालकमाथि कारबाही गर्दै ५२ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।
यस्तै, लागुपदार्थ सेवन (लापसे) गर्ने १४ जनामाथि कारबाही गरी १४ हजार रुपैयाँ राजस्व उठाइएको छ।
यसैगरी, ७ हजार ३ सय ९५ सवारी साधनलाई ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाही गर्दै ६४ लाख ६० हजार राजस्व संकलन गरिएको छ। बाँके ट्राफिक प्रहरीको कारबाहीबाट फागुनमा १ हजार ६ सय ४१ वटा सवारी साधनबाट १३ लाख ८२ हजार ५ सय रुपैयाँ, चैतमा १ हजार ७ सय ८१ वटा सवारी साधनबाट १५ लाख ५७ हजार रुपैयाँ, वैशाखमा २ हजार ७८ वटा सवारी साधनबाट १८ लाख ६२ हजार रुपैयाँ र जेठ १४ गतेसम्म १ हजार ८ सय ९५ वटा सवारी साधनबाट १६ लाख ५८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतना कार्यक्रम २१६ पटक सञ्चालन गर्दा १४ हजार १ सय ५८ जना लाभान्वित भएका छन्। ५४१ वटा सार्वजनिक तथा निजी सवारी साधनको नम्बर प्लेट सुधार गरिएको तथा ४१३ वटा सार्वजनिक सवारी साधनबाट ५२७ वटा अतिरिक्त सिट तथा मुडा हटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ।