काठमाडौँ । प्रहरीको हिरासतभित्र थुनुवाको मृत्यु घटना प्रकरणमा जिल्ला प्रहरी प्रमुख एसपीदेखि जवानसम्म १० जनामाथि कारबाही सिफारिस गरिएको छ। उक्त घटना सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोट हो।
सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा मृत्यु भएपछि गठन गरिएको डीआईजी दिनेश कुमार आचार्य नेतृत्वको छानबिन समितिले दोषी देखिएका प्रहरी कर्मचारीहरूमाथि कारबाहीको सिफारिस गरेको हो।
समितिका अनुसार एक जनालाई सचेत गराउने, दुई जनालाई ध्यानाकर्षण गराउने र पाँच जनालाई सख्त चेतावनी दिँदै जिम्मेवारीबाट अलग गर्ने प्रस्ताव गरिएको छ। यस्तै, एक जनालाई नसिहत र अर्का एक जनालाई ग्रेड घटुवा गर्ने सिफारिस गरिएको छ।
घटनापछि समितिले हिरासत व्यवस्थापनमा सुधारका लागि विभिन्न सुझाव पनि दिएको छ। हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकता दिनुपर्ने, ‘हिरासत व्यवस्थापन कार्य निर्देशन, २०८१’ को पूर्ण कार्यान्वयन गर्नुपर्ने र ड्युटीका बेला लापरबाही हुन नदिन नियमित निगरानी सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ।
त्यसैगरी, हिरासतभित्र कुनै असामान्य गतिविधि देखिए तुरुन्त रिपोर्ट गर्ने प्रणाली अनिवार्य रूपमा लागू गर्नुपर्ने, संवेदनशील प्रकृतिका घटनामा कार्यालय प्रमुखको प्रत्यक्ष निगरानी आवश्यक पर्ने र परिवार तथा सरोकारवालासँग समन्वयलाई मजबुत बनाउनुपर्ने सुझाव पनि दिइएको छ।
समितिले जिल्ला प्रहरी प्रमुखलाई हिरासत व्यवस्थापनजस्तो संवेदनशील विषयमा नियमित अनुगमन र सुपरीवेक्षण अझ प्रभावकारी बनाउन तथा प्रहरी इकाइहरूमा आवधिक निरीक्षण र सुधारमुखी कार्ययोजना लागू गर्न समेत निर्देशन दिएको छ।