बाँके । प्रहरी उपरीक्षक (एसपी) अङ्गुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले लगातार उत्कृष्ट कार्यसम्पादन गर्दै देशभरमै सर्वोत्कृष्ट प्रहरी कार्यालय बन्न सफलता हासिल गरेको छ। प्रहरी प्रधान कार्यालयले वैशाख महिनाको कार्यसम्पादन मूल्याङ्कनमा बाँकेलाई देशकै उत्कृष्ट जिल्ला प्रहरी कार्यालय घोषणा गरेको हो। बाँके प्रहरी गत चैतमा पनि देशभरकै सर्वोत्कृष्ट प्रहरी कार्यालय बाँकेको थियो। यसपटक भने कार्य सम्पादन लगभग १० प्रतिशतले वृद्धि भएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार एसपी जिसीको नेतृत्वमा बाँके प्रहरीले शान्तिसुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण तथा अनुसन्धानमा उल्लेखनीय प्रगति हासिल गरेको छ। कोहलपुर नगर विकास समितिको प्लानिङ क्षेत्रअन्तर्गत पर्ने करिब २८ बिघा जग्गामा विगत दुई दशकदेखि भइरहेको अतिक्रमण हटाउने संवेदनशील कार्यलाई कुनै अप्रिय घटना बिना सफलतापूर्वक सम्पन्न गर्नु प्रमुख उपलब्धिका रूपमा लिइएको छ। काठमाडौं उपत्यकापछि सहज रूपमा अवैध संरचना हटाउन बाँके प्रहरीको योगदान उल्लेखनीय रहेको बुझिएको छ।
प्रहरी सङ्गठनको नीति निर्देशनअनुसार अनुशासित, व्यावसायिक र कर्तव्यनिष्ठ ढंगले जिम्मेवारी निर्वाह गरेको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेलाई सर्वोत्कृष्ट घोषित गरिएको हो। एसपी जिसीले जिम्मेवारी सम्हालेपछि जिल्लामा शान्तिसुरक्षाको अवस्था सुदृढ हुनुका साथै अपराध अनुसन्धानमा समेत उल्लेखनीय सुधार देखिएको छ।
वैशाख महिनामा मात्रै जिल्लाभर २०५ वटा अपराधका मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको छ। तीमध्ये १० वटा जघन्य तथा गम्भीर प्रकृतिका रहेका छन् भने ६१ वटा मध्यम प्रकृतिका मुद्दा रहेका छन्। फैसला कार्यान्वयन अभियानअन्तर्गत ७६ जना फरार प्रतिवादी पक्राउ परेका छन् भने विभिन्न घटनामा संलग्न १८७ जना अभियुक्तलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको छ। लामो समयदेखि अनुसन्धान बाँकी रहेका १९ वटा मुद्दा टुङ्ग्याइएको छ भने सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्दै राजस्व संकलनमा समेत योगदान पुगेको प्रहरीले जनाएको छ।
नागरिकमैत्री सेवा प्रवाह, प्रविधिको प्रयोग र कडा कमाण्ड प्रणालीलाई यस सफलताको मुख्य आधार मानिएको छ। सर्वसाधारणका गुनासोको शीघ्र सुनुवाइ, प्रमाण संकलनमा आधुनिक प्रविधिको प्रयोग तथा मातहतका इकाइहरूको सक्रिय परिचालनले समग्र कार्यसम्पादनमा सुधार ल्याएको देखिन्छ।
प्रतिक्रिया दिँदै एसपी अङ्गुर जिसीले यो उपलब्धि व्यक्तिगत नभई सम्पूर्ण टिमवर्कको परिणाम भएको बताएका छन्। “प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय बाँकेको कार्यसम्पादनलाई देशभरमै उत्कृष्ट ठहर गरेकोमा सम्पूर्ण टोलीप्रति आभार व्यक्त गर्छु,” उनले भने, “अबको प्राथमिकता भनेको बाँकेबासीलाई अझ सुरक्षित अनुभूति गराउने, पीडितलाई छिटो न्याय दिलाउने र प्रहरी सेवामा नागरिकमैत्री व्यवहारलाई अझ सुदृढ बनाउने हो।”
उनले जिल्लामा शून्य सहनशीलताको नीति अपनाउँदै लागुऔषध कारोबार, अपराध तथा सीमामा हुने अवैध गतिविधि नियन्त्रणमा थप कडाइ गरिने स्पष्ट पारे। “पीडित न्यायबाट वञ्चित नहोस् भन्ने हाम्रो पहिलो दायित्व हो। अपराधीमाथि कुनै पनि हालतमा सम्झौता हुँदैन,” उनले जोड दिए।
यता, पछिल्लो समय अभियन्ता रुबी खानले एसपी जिसीमाथि कारबाहीको माग गर्दै विभिन्न गतिविधि गर्दै आएकी थिइन। तर प्रहरी प्रधान कार्यालयबाटै जिल्ला प्रहरी कार्यालय बाँकेलाई उत्कृष्ट घोषणा हुनु कार्यसम्पादनकै आधारमा गरिएको मूल्याङ्कन भएको संकेतका रूपमा हेरिएको छ। एसपी जिसीको नेतृत्वमा जिल्लामा शान्तिसुरक्षाको अवस्था सुधारिएको महसुस भइरहेको छ। यता रुबी खानले उठाएको माग एकातिर रहँदा कार्यसम्पादन मूल्याङ्कनमा बाँके प्रहरी देशभरमै पहिलो बन्नुले वास्तविकता आफैं बोलिरहेको देखिन्छ।”
सुरक्षाखबरसँगको कुराकानीमा बाँकेबासीहरुले एसपी जिसीको कार्यशैलीप्रति सन्तुष्टि व्यक्त गर्दै उनको नेतृत्वलाई “इमानदार, निष्पक्ष र परिणाममुखी” भएको बताएका छन्। “पहिले जस्तो असुरक्षा महसुस हुँदैन, प्रहरीले काम गरेको देखिन्छ,” नरैनापुर लगायत स्थानका स्थानीयहरुले भने- “अनावश्यक दबाबमा नपरी कानुनअनुसार काम गर्ने नेतृत्व पाउँदा हामी ढुक्क छौं।”
स्थानीयहरू भन्छन् -,“व्यक्तिगत स्वार्थ पूरा नभएपछि आरोप लगाउने प्रवृत्ति नयाँ होइन। तर, यहाँ कामको परिणामले सबै कुरा देखाइसकेको छ। एसपी जिसी जस्ता अधिकृतलाई गलत दिशामा झुकाउन सकिन्छ भन्ने सोच कसैले नराखे हुन्छ, उहाँ आफ्नो स्वाभिमानमा अडिग रहने, नझुक्ने प्रहरी अधिकृत हुनुहुन्छ।”
यस मूल्याङ्कनले बाँके जिल्लामा शान्तिसुरक्षा मजबुत बन्दै गएको र नागरिकहरूले सुरक्षित वातावरणको अनुभूति गर्न थालेको पुष्टि गरेको छ। त्यसैगरी प्रहरी प्रधान कार्यालयले प्रदेशतर्फ लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई उत्कृष्ट प्रदेश प्रहरी कार्यालय घोषणा गरेको छ। उक्त कार्यालयको नेतृत्व डीआईजी भूपेन्द्रबहादुर खत्रीले गरिरहेका छन् ।