काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सबै प्रहरी कर्मचारीहरूले उत्कृष्ट बोली, वचन र व्यवहारलाई आत्मसात् गर्दै नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहमा कुनै कमी कमजोरी हुन नदिने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन्
आईजीपी कार्कीले सरकारद्वारा लागू गरिएका नीति तथा कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न, आ–आफ्नो क्षेत्रमा आपराधिक क्रियाकलाप हुन नदिन सूचना संकलन र विश्लेषणलाई प्राथमिकतामा राख्न तथा सोही अनुसार सुरक्षा रणनीति अपनाएर प्रहरी परिचालन गर्नुपर्ने बताए। उनले लागुऔषध उत्पादन, ओसारपसार र कारोबारमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन तथा सेवनकर्तालाई लक्षित सुधारात्मक कार्यक्रम सञ्चालन गर्न प्रहरी अझ सक्रिय हुनुपर्ने बताए।
सीमा नाकामा हुन सक्ने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन उनले निर्देशन दिएका हुन् । साथै, गुण्डागर्दीविरुद्ध कडा रूपमा प्रस्तुत हुन, फैसला कार्यान्वयन र फरार प्रतिवादी पक्राउ कार्यलाई तदारुकताका साथ अघि बढाउनुपर्ने उनले बताए।
उनले बदलिँदो परिवेशलाई आत्मसात् गर्दै समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरीको सक्रियता र प्रभावकारिता अझ बढाउनुपर्नेमा जोड दिए। अन्तर्राष्ट्रिय स्तरसम्म प्रहरीको छवि सुदृढ हुने गरी उच्च व्यावसायिकता प्रदर्शन गर्न सबै प्रहरी कर्मचारी प्रतिबद्ध हुनुपर्ने उनले उल्लेख गरे।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्राथमिकतामा राख्दै नागरिक सुनुवाइमार्फत प्रभावकारी सूचना प्रवाह गर्न र नागरिकले अनुभूति गर्ने गरी सेवा प्रदान गर्न उनले निर्देशन दिए। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको उद्देश्य र लक्ष्य प्राप्तिमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै गैरव्यावसायिक गतिविधिमा संलग्न प्रहरी कर्मचारीलाई कारबाहीको दायरामा ल्याइने उनले स्पष्ट पारेका छन् ।