नेपालगन्ज । सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँकेले आज आफ्नो १९ औं वार्षिकोत्सब मनाएको छ ।
वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति डीआईजी दिपेन्द्र कुवँरले शान्ति सुरक्षा र सुव्यवस्था, सीमा सुरक्षा, विपद व्यवस्थापनमा सशस्त्र प्रहरी बल सधैं उच्च मनोबलका साथ कर्मशील रहने बताए ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विपदमा सशस्त्र प्रहरीले स्थानीय सरकारसंग गरिरहेको सहकार्य र समन्वयको सराहना गरे ।
साथै डीआईजी कुवँरले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । नं. ३० गणका गणपति एसपी भिम बहादुर चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहिद परिवारलाई सम्मान, सांस्कृतिक प्रस्तुति, कदरपत्र, पुरस्कार तथा प्रशंसापत्र वितरण गरिनुका साथै परेवा उडाइएको थियो भने केक समेत काटिएको थियो ।
सशस्त्र प्रहरीका इन्स्पेक्टर धनराज बुढाथोकीले संचालन गरेको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, नेपाली सेना बज्रदल गण बाँकेका प्रमुख सेनानी रामचन्द्र श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुर जिसी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका उप-अनुसन्धान निर्देशक हरिश विष्ट, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, विभिन्न गणका गणपति, सशस्त्र प्रहरीका अधिकारी, सहिद परिवार लगायतको उपस्थिति थियो ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँके २०६३ चैत २१ गते स्थापना भएको थियो। यस गण मातहत सीमा सुरक्षा तथा जिल्लाको शान्ति सुरक्षा कायम गर्न १६ वटा कार्यालय छन् । नं. ३० गण नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ भवानियापुर (महेन्द्रनगर) मा अवस्थित छ । गण सीमा सुरक्षा , विपद् व्यवस्थापन तथा उद्धार लगायत आन्तरिक सुरक्षामा अहोरात्र खटिदै आएको छ।