काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा नयाँ नेतृत्व चयनको चर्चा तीव्र बन्दै गएको छ। वर्तमान सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्याल आगामी २०८३ वैशाख १८ गते अनिवार्य अवकाशमा जाँदैसँगै संगठनभित्र भावी नेतृत्वको दौड रोचक बन्दै गएको हो।
२०७९ वैशाख १९ देखि संगठनको कमाण्ड सम्हाल्दै आएका आईजीपी अर्यालले करिब चार वर्षे कार्यकाल पूरा गर्दै अवकाश लिन लागेका हुन्। २०५४ चैत १८ मा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका उनी सशस्त्र प्रहरी बल स्थापना भएपछि सोही संगठनमा आबद्ध भएका थिए। करिब २८ वर्षे सेवा अनुभवसहित उनी अवकाशतर्फ उन्मुख हुँदा नेतृत्व हस्तान्तरणको प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्ने तयारीमा छ।
सशस्त्र प्रहरी संगठनमा हाल तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) रहेपनि आईजीपी पदका लागि विशेषगरि दुई एआईजीबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। वरीयतामा सबैभन्दा अगाडि रहेका एआईजी नारायणदत्त पौडेल प्रमुख दाबेदारका रूपमा उभिएका छन्। उनी २०७९ जेठ ६ मा एआईजीमा बढुवा भएका हुन् र हाल मानवस्रोत विकास विभागको नेतृत्व सम्हालिरहेका छन्।
त्यस्तै, एआऐइजी वंशीराज दाहाल पनि आईजीपीको दौडमा प्रतिस्पर्धी मानिन्छन्। २०७९ असोज २८ मा एआईजीमा बढुवा भएका दाहाल हाल सीमा सुरक्षा विभाग प्रमुखका रूपमा कार्यरत छन्। वरीयतामा दाहाल एआईजी पौडेलभन्दा करिब पाँच महिना पछाडि बढुवा भएका हुन् ।
अर्का एआईजी गणेश ठाडा मगर कार्य विभागको नेतृत्व गरिरहेका छन्। तर, उनी पछिल्लो ब्याचका भएकाले वरीयताका हिसाबले आईजीपी दौडमा तुलनात्मक रूपमा कमजोर देखिएका छन्। सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार आईजीपी नियुक्ति गर्दा ज्येष्ठता र कार्यकुशलतालाई मुख्य आधार मानिन्छ। यही प्रावधानका आधारमा आगामी नेतृत्व चयन हुने अपेक्षा गरिएको छ।
संगठनभित्रको आन्तरिक मूल्यांकन, कार्यसम्पादन र वरीयताको समीकरणलाई ध्यानमा राख्दै सरकारले छिट्टै नयाँ आईजीपी नियुक्त गर्ने तयारी गरेको स्रोतले जनाएको छ। नयाँ नेतृत्वसँगै सशस्त्र प्रहरी बलको रणनीति, कार्यशैली र प्राथमिकतामा समेत केही परिवर्तन आउने अपेक्षा गरिएको छ।
यी हुन् सशस्त्र प्रहरी बल नेपालका हालसम्मका आईजीपीहरु-
कृष्णमोहन श्रेष्ठ, सहवीर थापा,वासुदेव ओली ,सनतकुमार बस्नेत, किशोरकुमार लामा, शैलेन्द्रकुमार श्रेष्ठ,कोशराज वन्त, दुर्जकुमार राई,सिंहबहादुर श्रेष्ठ, शैलेन्द्र खनाल,,पुष्पराम केसीर राजु अर्याल (वर्तमान)।