नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले चालू आर्थिक वर्षको पछिल्लो ६ महिनामा ९३९ जना अभियुक्त पक्राउ गरेको छ । २०८२/०८३ को असोजदेखि फागुन मसान्तसम्मको अवधिमा जिल्लामा कूल १ हजार १३२ वटा मुद्दा दर्ता हुँदा ९३९ जना अभियुक्त पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दिपक पातलीका अनुसार २७० जना फरार प्रतिवादी पक्राउ परेका छन् । उनीहरूमाथि १२५ वर्ष १ महिना ९ दिन कैद सजाय तोकिएको छ भने ३ करोड ३५ लाख ३४ हजार ४९८ रुपैयाँ जरिवाना असुल उपर गरिएको छ ।
अवैध भन्सार छलि नियन्त्रणतर्फ ६ महिनाको अवधिमा प्रहरीले १ करोड ९५ लाख ६० हजार ४९३ रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । यस क्रममा ४९ जना पक्राउ परेका छन् भने २ वटा गाडी, २१ मोटरसाइकल र २ वटा इ–रिक्सा बरामद गरिएको छ । ट्राफिक कारबाहीतर्फ जिल्लाभर १५ हजार ६६७ वटा सवारीसाधनलाई कारबाही गर्दै १ करोड २७ लाख १९ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ । त्यस्तै अवैध नदीजन्य पदार्थ उत्खनन् नियन्त्रणका क्रममा ५२ वटा सवारी साधन नियन्त्रणमा लिँदै ६ लाख २५ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ ।
लागुऔषध नियन्त्रण अभियान अन्तर्गत ६ महिनामा २१२ जना पक्राउ परेका छन् । बरामद लागुऔषधतर्फ १ किलो ५०० ग्राम ३२२ मिलिग्राम ब्राउनसुगर, ४ ग्राम चरेस, ५ किलो ६६ ग्राम ८९० मिलिग्राम गाँजा, ५०० मिलिलिटर कोरेक्स, २७०९ ट्याब्लेट नाइट्रोजेपाम र ४१७२ क्याप्सुल ट्रामाडोल बरामद गरिएको छ । पक्राउ पर्नेमा १९१ नेपाली पुरुष, ९ महिला र १२ भारतीय नागरिक रहेका छन् । यसैगरी ३८८ जना हराएको निवेदन परेकोमा ३४३ जनालाई फेला पारेर आफन्तको जिम्मा लगाइएको छ भने बाँकीको खोजतलास जारी रहेको जनाएको छ ।
यसैबीच ज्यान मार्ने उद्योगसम्बन्धी तथा अन्य गम्भीर प्रकृतिका घटनामा संलग्न फरार प्रतिवादीहरूलाई पक्राउ गर्दै अनुसन्धानलाई तीव्र बनाइएको छ । गत कात्तिक ६ गते नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित मिलन कटेज नजिक भएको घटनामा फलामको रड र धारिलो हतियार प्रहार गरी तीन जनालाई घाइते बनाउने जाजरकोट भेरीमालिका नगरपालिका–४ का ३० वर्षीय निरज शाहीलाई कात्तिक २४ गते पक्राउ गरिएको डीएसपी पातलीले जानकारी दिए ।
यस्तै, मंसिर ३ गते नेपालगञ्ज–१३ मा खुकुरी प्रहार गरी एक व्यक्तिलाई गम्भीर घाइते बनाउने घटनामा संलग्न नबिन सुनारलाई मंसिर ७ गते पक्राउ गरिएको छ । सोही प्रकृतिको अर्को घटनामा २०८१ चैत १५ गते राप्तीसोनारी गाउँपालिका–२ मा भएको खुकुरी प्रहार घटनामा संलग्न एक जनालाई मंसिर २ गते नेपालगञ्ज–१२ बाट नियन्त्रणमा लिई अदालतमा पेश गरिएको डीएसपी पातलीले बताए ।
यसैगरी पुस १७ गते डुडुवा गाउँपालिका–४ मा नाबालिकामाथि जबर्जस्ती करणी गर्ने अभियुक्त सद्दाम खानलाई पक्राउ गरी अनुसन्धानपछि पुर्पक्षका लागि कारागार पठाइएको छ भने २०८० चैत १७ गते नेपालगञ्ज–२१ गंगारामपुरवा क्षेत्रबाट हराएका इन्तजार भन्ने मोहम्मद अरबी खाँको हत्या प्रकरणमा संलग्न फरार अभियुक्त अफजल पठानलाई फागुन ५ गते पक्राउ गरिएको छ । उक्त घटनामा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । पक्राउ परेका पठान हाल पुर्पक्षका लागि कारागार पठाइएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, डुडुवा गाउँपालिका–३ बनकट्टीस्थित इनारमा फेला परेको बेवारिसे शवको पहिचान गरी हत्या प्रकरणमा संलग्न २५ वर्षीय राकेश वर्मालाई पनि प्रहरीले पक्राउ गरी कारागार पठाइएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार फरार अभियुक्त पक्राउ, जघन्य अपराध अनुसन्धान, लागुऔषध नियन्त्रण तथा हराएका व्यक्तिको खोजी कार्यलाई थप प्रभावकारी बनाउँदै लगिएको छ । बाँकेमा अहिले प्रहरी उपरीक्षक अंगुर जिसी प्रमुख छन्। उनी असोज ७ गतेदेखि प्रमुखको भूमिकामा छन् ।