काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाएर मानव बेचबिखन गर्ने घटनामा संलग्न एक जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, पीडित महिलालाई कुवेतमा ब्युटी पार्लरमा आकर्षक तलबको काम लगाइदिने भन्दै “फ्री भिसा, फ्री टिकट” र मासिक १२० केडी तलब हुने प्रलोभन दिइएको थियो।
प्रहरीका अनुसार उनलाई २०८२ असार ४ गते काठमाडौंको नयाँ बसपार्कबाट सडक मार्ग हुँदै बुटवल, त्यसपछि नेपालगञ्ज–रुपइडिहा नाका पार गराई भारत पुर्याइएको थियो। त्यहाँबाट भारतको नयाँ दिल्ली लगेर जबर्जस्ती हवाईमार्गबाट यूएईको दुबई हुँदै कुवेत पुर्याइएको थियो।
कुवेत पुगेपछि उनलाई बेचबिखन गरी बन्धक बनाइ घरेलु काममा लगाइएको, कुटपिट गरिएको तथा खाना समेत नदिई शारीरिक र मानसिक यातना दिइएको प्रहरीले जनाएको छ। काम गर्न नसकेको भन्दै घरधनीले दुईतले घरबाट धकेल्दा उनका दुवै खुट्टा भाँचिएका थिए।
घाइते अवस्थामा कुवेत प्रहरीले उद्धार गरी अस्पतालमा उपचार गराएको थियो। पछि कुवेतस्थित ‘युवा शक्ति’ नामक संस्थाको पहलमा उनी २०८२ मंसिर ९ गते नेपाल फर्कन सफल भएकी थिइन्।
घटनाबारे २०८२ माघ ८ गते जाहेरी दर्ता भएपछि अनुसन्धान अघि बढाइएको थियो। यस क्रममा संलग्न रहेको आरोपमा सुर्खेतका ४८ वर्षीय ससिराम खड्कालाई २०८२ चैत २ गते काठमाडौंको टोखा नगरपालिका–५ बाट पक्राउ गरिएको हो।
उनीलाई २०८२ चैत ५ गते काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ।