दाङ । परपुरुषसँग हिँडडुल गरेको बहानामा प्यूठानमा श्रीमानले भाइसँग मिलेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । प्युठानको गौमुखी गाउँपालिका–६ लिबाङका १९ वर्षीय श्रीमान अनिल घर्तीले आफ्ना १७ वर्षीय भाइ जनकसँको मिलेर माघ १६ गते राति आफ्नी १९ वर्षीया श्रीमती शर्मिला घर्तीलाई भीरबाट धकलेर हत्या गरेको तथ्य खुलेको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक हरि भट्टराइले जानकारी दिएका छन् । प्रहरीले हत्या गरेको आरोपमा दाजुभाइलाई पक्राउ गरेको छ।
दुई बर्ष पहिले अर्थात १७ बर्षको उमेरमा प्रेम सम्बन्ध पछि अनिलले शर्मिलालाई बिहे गरेका थिए । तर, परपुरषसँग! हिडडुल गरेको तथा परपुरुष संग सम्बन्ध राखेको आशंकामा अनिलले भाइ संग मिलेर योजना बद्ध रुपमा आफ्नी श्रीमति शर्मिलालाई भीरबाट धकेलेर हत्या गरेको तथ्य अनुसन्धान बाट खुलेको प्रहरी निरीक्षक भट्टराइले बताए ।
प्रहरी निरीक्षक भट्टराईका अनुसार योजना अनुरुप माघ १६ गते राति साढे ८ बजेपछि श्रीमान अनिलले श्रीमती शर्मिलालाई इभिनिङ वाकका लागि बाहिर जाउँ आग्रह गरेका थिए । सँगै भाइ जनकपनि गएका थिए ।
त्यही बीचमा अनिलले श्रीमती शर्मिलासँग परपुरुषसँग सम्बन्ध गाँसेको भन्दै निहुँ खोजेका थिए । विवाद भएपछि अनिलले घर नजिकै स्टिलको बारमा शर्मिलाको टाउको ठोक्काएर घाइते तुल्याएका थिए । त्यसपछि उनले शर्मिलालाई भीरबाट हुत्याइँ दिएका थिए ।
शर्मिला झन्डै ३० मिटर मुनी गइ अड्किएकी थिइन । उनले लगाएको स्वीटर पनि रुखमा अड्किएको थियो । धकेल्ने क्रममा चप्पल माथि डाँडोमै छुटेको थियो ।
त्यसपछि दाजुभाइ डाँडोबाट झरेर भीरमा अड्किएकी शर्मिलाई त्यहाँबाट पुनः हुत्याइँ दिएका थिए । त्यसपछि शर्मिला झन्डै डेढ सय मिटर मुनी पुगेकी थिइन ।
त्यहाँबाट पनि दाजुभाइ मुनी पुगेरै शर्मिला मरे नमरेको एकीन गरेका थिए । उनीहरुले शर्मिलाको जीउमा स्वीटर लगाइ दिएका थिए । चप्पल खुट्टामा लगाइ दिएका थिए । त्यसपछि उनीहरु दाजुभाइ राति ११ बजेतिर घरमा गइ सुतेका थिए ।
दोस्रो दिन बिहान भाइ जनक घाँस दाउरा काट्ने बाहानामा त्यो वन पाखो भएको क्षेत्रमा पुगेका थिए । उनैले बिहानै भाउजुको शब भीरबाट लडेर मृत्यु भएको अवस्थामा देखेको भनेर आमालाई बताएका थिए । त्यसपछि घर परिवारका सदस्य पुगेर हेर्दा शर्मिलालाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटना शंकाष्पद देखेपछि प्रहरी सोधपुछका लागि श्रीमान अनिललाई नियन्त्रण्मा लिएको थियो । सोधपुछका क्रममा अनिलले श्रीमती हत्याको घटना स्वीकार गरेका थिए । जिल्ला अदालतबाट आइतबार म्याद थप भइ दाजुभाइका बिरुद्ध कर्तब्य ज्यान शिर्षकमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।