काठमाडौं । नेपाल एपीएफ स्कुल कीर्तिपुरमा ‘तेस्रो सशस्त्र प्रहरी विद्यालय' स्तरीय अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफि फुटबल प्रतियोगिता–२०८२’ आजदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले गरेका हुन् ।
फागुन ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पहिलो हुने टिमलाई ६० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुने टिमलाई १० हजार रुपैयाँ नगद पुरस्कारसहित रनिङ ट्रफि प्रदान गरिनेछ । प्रतियोगिताका खेलहरू लिग कम नकआउट प्रणालीमा सञ्चालन हुने आयोजकले जनाएको छ ।
उद्घाटन समारोहमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,कीर्तिपुर एपीएफ स्कुलका कमान्डेन्ट रामजंग पाण्डे, विभिन्न विद्यालयका प्रधानाध्यापक, अखिल नेपाल फुटबल संघका पदाधिकारी, सञ्चारकर्मी, स्थानीय बुद्धिजीवी तथा भद्रभलाद्मीहरूको उपस्थिति रहेको थियो ।
आजको उद्घाटन खेलमा नेपाल एपीएफ स्कुल कीर्तिपुर (रातो) ले पेगासस स्कुल गोकर्णेश्वरलाई ६–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।
प्रतियोगितामा नेपाल एपीएफ स्कुल कीर्तिपुर (रातो र निलो), नेपाल एपीएफ स्कुल कोहलपुर, नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुल सप्तरी, सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुर, नेपाल पुलिस स्कुल साँगा काभ्रे, राई स्कुल नक्साल काठमाडौं, जेम्स स्कुल धापाखेल ललितपुर, डि.ए.भि. सुशिल केडिया स्कुल जावलाखेल ललितपुर, ब्राइट होराइजन चिल्ड्रेन्स होम मातातीर्थ काठमाडौं, पिस प्वाइन्ट स्कुल बानेश्वर काठमाडौं, ब्राइट एन्जल स्कुल थानकोट काठमाडौं, पेगासस स्कुल गोकर्णेश्वर काठमाडौं, सन साइन स्कुल चन्द्रागिरी काठमाडौं र बाघभैरव स्कुल कीर्तिपुर काठमाडौं गरी कूल १५ टिमको सहभागिता रहेको छ ।