नेपालगन्ज । प्रभात मेमोरियल स्कूल नेपालगन्जले शैक्षिक कार्यक्रम २०८२ अन्तर्गत आयोजना गरेको चार दिने वार्षिक खेलकूद सप्ताह आजदेखि औपचारिक रूपमा सुरु गरेको छ ।
विद्यालय स्थापना दिवसको अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको खेलकूद सप्ताहको उद्घाटन विद्यालयका प्रिन्सिपल गौरव गिरी तथा विद्यालय सञ्चालक समिति सदस्य विक्रम राज विष्टले संयुक्त रूपमा गर्नुभएको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रिन्सिपल गिरीले खेलकूद गतिविधिले विद्यार्थीहरूको शारीरिक तन्दुरुस्तीका साथै मानसिक सन्तुलन, अनुशासन, नेतृत्व क्षमता र आत्मविश्वासको विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । उहाँले शैक्षिक उपलब्धिसँगै सह–पाठ्यक्रम गतिविधिलाई समान महत्व दिँदै विद्यालयले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा विशेष जोड दिँदै आएको उल्लेख गर्नुभयो ।
त्यस अवसरमा सञ्चालक समिति सदस्य विष्टले खेलकूद सप्ताहले विद्यार्थीहरूमा स्वस्थ प्रतिस्पर्धा, सहकार्य र खेल भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । खेलकूद सप्ताहमा विद्यालयका पूर्व–प्राथमिक, प्राथमिक (कक्षा १–५), आधारभूत (कक्षा ६–८) तथा माध्यमिक (कक्षा ९–१२) तहका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको छ। प्रतियोगिता अन्तर्गत लङ जम्प, रिले दौड, भलिबल, फुटसल, इनडोर खेल लगायत विभिन्न व्यक्तिगत तथा समूहगत खेलहरू समावेश गरिएको विद्यालयले जनाएको छ ।
विद्यालय प्रशासनका अनुसार खेलकूद सप्ताह माघ १३ देखि १६ गतेसम्म सञ्चालन हुनेछ । खेल अवधिभर विभिन्न तहका विद्यार्थीहरूबीच प्रतिस्पर्धात्मक तथा मैत्रीपूर्ण खेलहरू सञ्चालन गरिनेछ भने उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई समापन समारोहमा सम्मान तथा पुरस्कार प्रदान गरिने जानकारी दिइएको छ ।
गुणस्तरीय शिक्षा, अनुशासन तथा सह–पाठ्यक्रम गतिविधिमा विशेष ध्यान दिँदै आएको प्रभात मेमोरियल स्कूलले आगामी दिनहरूमा पनि यस्ता शैक्षिक तथा खेलकूदमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।