नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–३ बनकट्टीस्थित एक इनारमा फेला परेको बेवारिसे महिलाको शवको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार माघ १ गते बिहान करिब १०ः२४ बजे डुडुवा गाउँपालिका–३ बनकट्टी गाउँको प्रयोगमा नरहेको एक इनारमा शव देखिएको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। इनारभित्र पहिचान खुल्न नसकेको र सडिगलि सकेको अवस्थामा महिलाको शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी उपरीक्षक अंगुर जिसीको नेतृत्वमा अनुसन्धान टोली परिचालन गरिएको थियो।
प्रहरीका अनुसार सशस्त्र प्रहरी बलको सहयोगमा शवलाई इनारबाट बाहिर निकालेर पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको थियो । जिल्ला प्रहरी कार्यालय बाँके भन्छ -"विभिन्न विधि र आधुनिक प्रविधिको प्रयोग गरी अनुसन्धान गर्दा मृतक डुडुवा गाउँपालिका–३ बनकट्टीकी २१ वर्षीया बसन्ती गोडिया भएको" पुष्टि भएको हो। मृतकले लगाएको कपडा र गरगहना तथा परिवारजनबाट प्राप्त विवरणका आधारमा शवको सनाखत गरिएको प्रहरीले जानकारी दिएको छ।
अनुसन्धानका क्रममा बसन्ती गोडिया केही समयदेखि भारतको नानपारास्थित मामाघरमा बसेको खुलेको भए पनि मामासँग सम्पर्क गर्दा त्यहाँ नगएको जानकारी प्राप्त भएपछि परिवारजनले कपडा र गरगहनाका आधारमा शव पहिचान गरेका हुन्। प्रहरीका अनुसार शव सडिगलिसकेको अवस्थामा फेला परेकाले बसन्ती गोडियाको हत्या करिब एक महिनाअघि नै भएको देखिएको छ।
प्रहरीले दिएको जानकारी अनुसार पोष्टमार्टम रिपोर्टमा घाँटी र टाउकोमा धारिलो हतियार प्रहार गरिएको उल्लेख छ, जसबाट उनको हत्या भएको पुष्टि भएको छ।
अनुसन्धानका क्रममा मृतकले मोबाइल फोन प्रयोग गर्ने गरे पनि सिम प्रयोग नगरेको परिवारले बताएका थिए। तर प्रविधिको विश्लेषणबाट मृतकले सिम प्रयोग गरेको तथ्य खुल्न आएको छ। अनुसन्धानअनुसार बसन्ती गोडिया पुष १ गते मंगलबार रातिदेखि सम्पर्कविहीन भएकी थिइन् र त्यसयता परिवारसँग सम्पर्कमा नआएकी देखिएको छ।
प्रहरीका अनुसार गाउँ, घर, छिमेकी तथा प्रविधिको सहयोगमा गरिएको थप अनुसन्धानबाट मृतक बसन्ती गोडियाको आफ्नै छिमेकी युवकसँग प्रेम सम्बन्ध रहेको खुलेको छ। सोही प्रेम सम्बन्धमा विवाद र खटपट भएपछि योजनाबद्ध रूपमा हत्या गरिएको शंकास्पद व्यक्तिले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। घटनास्थलको अवस्था, शवको अवस्था, पोष्टमार्टम रिपोर्ट, शंकित व्यक्तिको बयान तथा क्राइम सिन रिकन्स्ट्रक्सनका आधारमा हत्या अभियोग पुष्टि भएको प्रहरीले जनाएको छ।
उक्त घटनामा संलग्न रहेको आरोपमा डुडुवा गाउँपालिका–३ बनकट्टी निवासी २५ वर्षीय राकेश वर्मालाई प्रहरीले पक्राउ गरेको छ। उनी अविवाहित हुन् भने उनका बुवा बिन्देश्वरी कुमी हुन्। पेशाले कृषक रहेका राकेश वर्मामाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ अन्तर्गत ज्यान सम्बन्धी कसुरमा माघ ११ गते पक्राउ गरी माघ १२ गते बाँके जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।