काठमाडौं। नेपाल प्रहरीको एसपीमा बढुवा भएका १६ जना प्रहरी अधिकृतहरूले दर्ज्यानी चिन्ह पाएका छन् । माघ ६ गतेको निर्णयअनुसार एसपीमा बढुवा भएका एसपीहरुलाई नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिन्हले सुशोभन गरेका हुन्।
दर्ज्यानी चिन्हबाट सुशोभित हुने एसपीहरुमा पुष्पराज मल्ल, धर्मराज भण्डारी, रबिन श्रेष्ठ, दिलिप कुमार गिरी, कुमार विक्रम थापा, बुद्ध श्रेष्ठ, मानबहादुर राई, मोहनबहादुर खाँण, श्यामु अर्याल, भरत लामा, सागर बोहरा, रामकुमार दानी, छेदीलाल कामती, हरिबहादुर ओली, प्रदीप कुमार सिंह र दीपक भारती रहेका छन्।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले बढुवा भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले क्षमता, कार्यकुशलता र संगठनप्रतिको योगदानको मूल्याङ्कनका आधारमा पदोन्नति भएको उल्लेख गर्दै प्राप्त जिम्मेवारीमा अझ सृजनशील र परिणाममुखी भएर काम गर्न निर्देशन दिए।
आसन्न निर्वाचन नजिकिँदै गएको सन्दर्भ उल्लेख गर्दै महानिरीक्षक कार्कीले अन्य अवस्थाको तुलनामा प्रहरीको भूमिका अझ महत्वपूर्ण हुने बताए। उनले संगठनको साख अभिवृद्धि हुने गरी सबै प्रहरी कर्मचारीहरूले जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए।
समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट बोल्दै प्रहरी उपरीक्षक पुष्पराज मल्लले प्राप्त जिम्मेवारीलाई थप व्यावसायिक निष्ठाका साथ प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो।