बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण बारा देशभरका गणहरूमध्ये उत्कृष्ट नतिजासहित प्रथम स्थान हासिल गर्न सफल भएको छ। यो सफलता गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीको कुशल नेतृत्व, स्पष्ट दृष्टिकोण र नतिजामुखी कार्यशैलीको प्रतिफल भएको बाराबासीहरूले बताएका छन्।
एक वर्षे कार्यकालमै उल्लेखनीय परिवर्तन ल्याउन सफल एसपी केसीको नेतृत्वमा सीमा सुरक्षा अभूतपूर्व रूपमा सुदृढ बनेको सीमावासी स्थानीयको अनुभव छ। “पहिला सीमामा डर थियो, अब ढुक्क छौँ,” सिम्रौनगढ क्षेत्रका स्थानीय अभय यादवले भने, “एसपी साब आउनु भएपछि तस्करी र अवैध गतिविधि प्रायः बन्द जस्तै भयो।”
बाराबासीहरूका अनुसार नियमित गस्ती, सूचनामा आधारित कारबाही र विशेष अपरेसनले सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार, तस्करी तथा अन्तरसीमा अपराध नियन्त्रणमा उल्लेखनीय सफलता मिलेको छ। “सशस्त्र प्रहरी अहिले कागजमा मात्रै होइन, मैदानमै देखिन्छ,” स्थानीय व्यापारीहरुले प्रतिक्रिया दिए।
विपद् व्यवस्थापनमा पनि एसपी केसीको भूमिका उदाहरणीय बनेको जिल्लावासी बताउँछन्। बाढी, डुबान तथा अन्य प्राकृतिक विपत्तिका बेला सशस्त्र प्रहरी बलको छिटो, संगठित र प्रभावकारी परिचालनले जनधनको क्षति न्यूनिकरण गर्न ठूलो योगदान पुर्याएको उनीहरूको भनाइ छ। “संकट पर्दा सबैभन्दा पहिला सशस्त्र प्रहरी नै आइपुग्थ्यो,” कलैया क्षेत्रका एक जनप्रतिनिधिले सम्झिए।
‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमले समुदाय र सुरक्षा निकायबीचको दूरी घटाएको सीमावासीहरूको अनुभव छ। जनचेतनामूलक कार्यक्रम, प्रत्यक्ष संवाद र सहयोगी व्यवहारका कारण सीमा सुरक्षा र अपराध नियन्त्रणमा समुदायको सक्रिय सहभागिता बढेको उनीहरूले बताएका छन्। “उहाँहरू प्रहरी मात्रै होइन, हाम्रो आफ्नै परिवारजस्तो लाग्थ्यो,” एक सीमावासी महिलाले भनिन्।
Quick Impact Project (QIP) अन्तर्गत सीमावर्ती क्षेत्रमा निर्माण गरिएका सार्वजनिक प्रतिक्षालय, शौचालय, खानेपानी, सरसफाइ, विद्यालय तथा सार्वजनिक स्थल सुधारजस्ता कार्यक्रमले जनजीवन सहज बनाएको स्थानीयको प्रतिक्रिया छ। “सानो काम देखिए पनि यसको प्रभाव ठूलो छ,” बारागढीका एक पत्रकारले बताए।
कमाण्ड सम्हालेपछि एसपी केसीले गणको भौतिक पूर्वाधार र कार्यालय व्यवस्थापनमा विशेष ध्यान दिदै सीमित स्रोतसाधन हुँदाहुँदै पनि ब्यारेक, आवासीय संरचना र कार्यालय सुधार गरी गणलाई व्यवस्थित बनाइएको छ। एसपी साबको कामले “ सशस्त्र प्रहरी कर्मचारीहरू खुसी देखिन थाले, त्यसको असर काममा पनि देखियो,” एक सशस्त्र प्रहरीले बताए ।
उनको नेतृत्वमा सञ्चालन गरिएका विशेष अपरेसनमार्फत करिब ५ करोड रुपैयाँ बराबरका अवैध सामान बरामद गरी भन्सार दाखिला गरिएको छ। साथै ठूलो परिमाणमा गाँजा, अफिम तथा लागूऔषधजन्य ट्याबलेट बरामद हुँदा युवाहरू जोगिएको स्थानीयको धारणा छ। “लागुऔषधविरुद्धको कडाइले धेरै घर बचाएको छ,” बाराका स्थानीय शिक्षक राम नारायण दासले बताए।
अन्य सुरक्षा निकाय, सरोकारवाला संस्था तथा भारतीय समकक्षी सुरक्षा निकायसँगको निरन्तर समन्वयले राजस्व चुहावट र अन्तरसीमा अपराध न्यूनिकरणमा गणको भूमिका प्रभावकारी बनेको बाराबासीहरूको निष्कर्ष छ।
इमान्दारिता, अनुशासन र राष्ट्रप्रतिको गहिरो समर्पणकै कारण एसपी केसी देशभरकै उत्कृष्ट गणपतिका रूपमा स्थापित भएका छन् । सशस्त्र प्रहरी बलको नीति अनुसार प्रथम हुने गणपतिलाई अर्को गणको कमाण्ड दिने व्यवस्थाअनुसार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एसपी केसीलाई सशस्त्र प्रहरी बल नं. ३४ गण कैलालीको कमाण्ड सुम्पिएका छन्।
“हामीले माया गर्ने एसपी साब जान लाग्दा दुःख लागेको छ,” सीमावासी स्थानीय भन्छन्, “उहाँले गरेको सहयोग र माया यहाँका जनताले कहिल्यै बिर्सँदैनौँ, हामी उहाँको योगदान कहिल्यै बिर्सँदैनौँ।”
एसपी खुमबहादुर केसीको यो सफलता सशस्त्र प्रहरी बलभित्र मात्र होइन, बाराबासी र सीमावासीका लागि पनि प्रेरणादायी उदाहरण बनेको छ।