काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका सादा पोसाक (घुमुवा) प्रहरी हवलदार लागुऔषध कारोबारीसँग लाखौं रुपैयाँ असुली गरेको आरोपमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्ने घुमुवा प्रहरी हवलदार धिरेन विष्ट रहेका छन् ।
हवल्दार विष्टले लागुऔषध कारोबारमा संलग्न व्यक्तिबाट ४ लाख रुपैयाँ लिएको सूचनाका आधारमा पक्राउ गरिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका विष्टलाई हाल जिल्ला प्रहरी परिसरको हिरासतमा राखेर थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
लागुऔषध कारोबारीसँग लाखौं रुपैयाँ असुलीको आरोपमा पक्राउ परेका हवल्दार विष्ट यसअघि पनि विवादमा तानिएका थिए। यसअघि २०७७ साल असारमा, न्युरोड क्षेत्रमा हुन्डी कारोबारसँग सम्बन्धित १० लाख रुपैयाँ लुटेको आरोपमा उनी पक्राउ परेका थिए। त्यसबेला पनि उनी जिल्ला प्रहरी परिसर काठमाडौँमै घुमुवामा थिए। उक्त मुद्दामा पछि सफाइ पाएपछि विष्ट सेवामा फर्किएका थिए।
हाल विष्ट काठमाडौँ उपत्यका प्रहरी कार्यालयअन्तर्गत सादा पोसाकमा परिचालित कर्मचारीका रूपमा कार्यरत थिए, जुन उपत्यकाकै उच्च तहको प्रहरी इकाइ मानिन्छ।
पहिले हुन्डी कारोबारीसँग रकम लुटेको आरोप खेपिसकेका व्यक्ति फेरि कसरी सादा पोसाकको संवेदनशील जिम्मेवारीमा खटाइए भन्ने विषयले प्रहरी संगठनभित्रै प्रश्न उठाएको छ।
उपत्यका प्रहरी कार्यालयका अधिकारीहरूका अनुसार, एआईजी टेकबहादुर तामाङको कार्यकालमा विष्टलाई सादा पोसाकमा रहने ‘इन्टेलिजेन्स’ जिम्मेवारी दिइएको थियो। हालको घटनाले उक्त निर्णयप्रति समेत बहस सुरु भएको छ। त्यस्ता विवादास्पद प्रहरीलाई फेरि घुमुवामा राख्नुमा ठुलो राज रहेको जानकारहरु बताउँछन्।