नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–४ खालेमसाहमा नाबालिकामाथि जबरजस्ती करणी भएको घटनासम्बन्धी जाहेरी सनाखतपछि प्रहरीद्वारा मुद्दा दर्ता गरी एक जना प्रतिवादीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान सुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २०८२ पुस १७ गते बिहान करिब २ बजे नाबालिकामाथि जबरजस्ती करणी भएको भन्दै पुस २२ गते पाँच जनाको समूहले अपहरण गरी करणी गरेको आरोपसहितको जाहेरी हुलाकमार्फत प्राप्त भएको थियो। हुलाकबाट आएको जाहेरीको विश्वसनीयता परीक्षण गर्न कानुनी व्यवस्था अनुसार जाहेरीदातालाई कार्यालयमा उपस्थित भई सनाखत गर्न बाँके प्रहरीले अनुरोध गरेको थियो।
तर जाहेरीदाता उपस्थित नभई प्रहरीले जाहेरी दर्ता गर्न नमानेको आरोप लगाउदै काठमाडौँस्थित रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरिएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय बाँकेले प्रेस विज्ञप्ति जारी गरी पीडित पक्षलाई जाहेरी सनाखतका लागि उपस्थित हुन आग्रह गरेको थियो।
सोही अनुरोधअनुसार मिति २०८२ पुस २९ गते पीडित नाबालिका र उनलाई सहयोग गर्नेहरू प्रहरी कार्यालयमा उपस्थित भएका थिए। घटनाको वास्तविकता बुझ्ने क्रममा पीडित नाबालिकाले सुरुमा विभिन्न दबाब र प्रभावका कारण झुटो विवरणसहित हुलाकमार्फत जाहेरी पठाएको बताएकी थिइन्।
पछि पीडितले डुडुवा गाउँपालिका–४ बस्ने करिब २६ वर्षीय सद्दाम खाँ नामका एक जनाले मात्रै आफूमाथि जबरजस्ती करणी गरेको भन्दै नयाँ जाहेरी दर्ता गराएको प्रहरीले जानकारी दिएको छ। उक्त जाहेरी दर्ता भई प्रतिवादी सद्दाम खाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेकाले उनलाई लखनऊबाट नेपालगञ्ज ल्याई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी बाँकेका अनुसार प्रतिवादी सद्दामविरुद्ध बाँके जिल्ला अदालतबाट भिडियो कन्फरेन्समार्फत पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ। हाल प्रतिवादी प्रहरीको प्रत्यक्ष निगरानीमा उपचाररत रहेका छन्।
यसैबीच, सामाजिक सञ्जालमा पीडित नाबालिकाको तस्बिर पोस्ट तथा सेयर गरिएको पाइएको भन्दै बाँके प्रहरीले यस्ता कार्य कानुनबमोजिम दण्डनीय हुने स्पष्ट पारेको छ। प्रहरीले पीडितको गोपनीयता कायम गर्न र तस्बिर तथा विवरण सार्वजनिक नगर्न सम्पूर्णमा अनुरोध गरेको छ।