काठमाडौँ । नेपाल प्रहरीले देशभर सञ्चालन गरेका कारबाहीबाट चालु आर्थिक वर्षको मंसिर महिनामा उल्लेख्य राजस्व संकलन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न किसिमका अवैध गतिविधि नियन्त्रण तथा कानुन कार्यान्वयनका क्रममा कुल ४० करोड २५ लाख ४१ हजार ६ सय ६५ रुपैयाँ राजस्व संकलन भएको हो ।
प्रहरीका अनुसार ट्राफिक प्रहरी कारबाहीमा ट्राफिक नियम उल्लङ्घनका विरुद्ध गरिएको कारबाहीबाट ७ करोड १५ लाख ९३ हजार ४५२ रुपैयाँ राजस्व संकलन गरेको छ, जुन कुल संकलनको १७.७८ प्रतिशत हो । त्यसैगरी अदालती फैसला कार्यान्वयनबाट १२ करोड ३७ लाख ३६ हजार ५४४ रुपैयाँ (३०.७४ प्रतिशत) राजस्व संकलन गरिएको छ । अवैध मालसामान बरामदबाट १७ करोड ९५ लाख ६७ हजार २ सय ५१ रुपैयाँ (४४.६१ प्रतिशत) संकलन भएको छ।
प्रहरी कारबाहीका क्रममा हुण्डी कारोबारबाट ६४ लाख ८४ लाख ४३ हजार ६७० रुपैयाँ (१.६० प्रतिशत) तथा अवैध सुन/चाँदी बरामदबाट ८९ लाख ४५ हजार ३९३ रुपैयाँ (२.२२ प्रतिशत) राजस्व संकलन भएको छ ।
त्यस्तै, स्रोत नखुलेको रकमतर्फ ८५ लाख ९ हजार २ सय ९८रुपैयाँ (२.११ प्रतिशत), अवैध नदीजन्य पदार्थ उत्खननबाट २७ लाख ६४ हजार ५५७ रुपैयाँ (०.६९ प्रतिशत), अवैध पशुपन्छीबाट ७ लाख २ हजार ३ सय रुपैयाँ (०.१७ प्रतिशत) र अवैध काठ बरामदबाट २ लाख ८७ हजार ५ सय रुपैयाँ (०.०७ प्रतिशत) राजस्व संकलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नेपाल प्रहरीले देशभर कानुनको प्रभावकारी कार्यान्वयन, अवैध गतिविधि नियन्त्रण तथा राजस्व संकलनलाई थप सुदृढ बनाउने कार्यलाई निरन्तरता दिइने जनाएको छ ।