बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको कारबाहीमा हुण्डी कारोबारमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्। प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीको कमाण्डको बाँके प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो।
नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाई, बालुवाटारबाट प्राप्त विवरणअनुसार बैंक तथा वित्तीय संस्थामार्फत ठूलो मात्रामा शंकास्पद कारोबार भएको सूचनापछि बाँके प्रहरीबाट अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा बाँकेको डुडुवा गाउँपालिका–६ निवासी ४० वर्षीय ईरफान अहमद शेखको खाताबाट ४ करोड ९२ लाख ८४ हजार २९६ रुपैयाँँ बराबरको शंकास्पद कारोबार भएको खुलेको हो।
नगद रकम खातामा जम्मा हुने बित्तिकै विद्युतीय माध्यममार्फत विभिन्न व्यक्ति तथा संस्थाहरूमा रकमान्तर हुने गरेको, सो कारोबारमा निज स्वयं ‘कन्डक्टर’ को रूपमा संलग्न रहेको तथा केवाइसी विवरणमा उल्लेखित अनुमानित वार्षिक आम्दानी र वास्तविक कारोबारबीच मेल नखाएको पाइएको प्रहरीले जनाएको छ।
उक्त आधारमा मिति २०८२ साउन ७ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्राचार प्राप्त भई ईरफान अहमद शेखविरुद्ध हुण्डी सम्बन्धी मुद्दा दर्ता गरिएको थियो। बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई प्रहरीले पुस ११ गते शुक्रबार पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ अनुमति २०८२ भदौ ३० गते जारी भइसकेको थियो भने हाल पक्राउ परेका प्रतिवादीमाथि हुण्डी सम्बन्धी मुद्दामा थप अनुसन्धान कार्य भइरहेको छ।
एसपी अंगुर जिसीको नेतृत्वमा बाँके प्रहरीले अवैध आर्थिक गतिविधि, हुण्डी तथा संगठित अपराध नियन्त्रणमा प्रभावकारी काम गर्दै आएको भन्दै यस्ता गैरकानुनी कारोबारविरुद्ध आगामी दिनमा पनि कडा कारबाही जारी रहने प्रहरीले जनाएको छ।