काठमाडौँ । काठमाडौँको ठमेलमा रहेको अलफ्ट होटल परिसरमा सञ्चालन भएको ‘क्यासिनो इभेन्ट’ को आडमा भारतीय समूहले योजनाबद्ध रूपमा जुवा खेलाएर ठगी गरेको खुलासा भएको छ। वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालि मार्फत गरिएको उक्त गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलनमार्फत मंसिर २६ गते पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो। ।
पक्राउ पर्नेमा भारतीय नागरिक ५७ वर्षीय सुरेश महाजन, ३९ वर्षीय प्रमोद मोरिया, ३१ वर्षीय बिक्रम सिंह, ३७ वर्षीय दिनेश वर्मा तथा नेपाली नागरिक ४० वर्षीया भवानी पाण्डे र ३६ वर्षीया चिजा खड्का रहेका छन्।
प्रहरीको अनुसन्धानअनुसार आरोपीहरूले जुवा खेल्दा तासमा पहिले नै चिप्स जडान गर्ने र त्यसलाई आँखामा लगाइने विशेष लेन्ससँग जोड्ने प्रविधि प्रयोग गर्ने गरेको पाइएको हो। यसरी लेन्स लगाएका खेलाडीहरूले तास पहिल्यै चिन्न सक्ने भएकाले अन्य खेलाडीहरूलाई सजिलै हराएर रकम असुल्ने गरेको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार यही तरिकाबाट उनीहरूले करोडौँ रुपैयाँ ठगी गरेका छन्।
महाकाय समूहले मंसिर २५ देखि २८ गतेसम्म इभेन्ट आयोजना गर्ने भन्दै करिब २०० खेलाडीलाई भारतबाट नेपाल ल्याएको थियो। उक्त इभेन्टमा नेपालस्थित बीपी समूहका सञ्चालक जनार्दन उप्रेती नेपालतर्फका मुख्य आयोजक रहेको र टिकट बुकिङ तथा व्यवस्थापनको जिम्मा लिएको प्रहरीको भनाइ छ।
क्यासिनोमा तास बाँड्ने ‘डिलर’को भूमिकामा रहेका पाण्डे र खड्का भारतबाटै आएका नेपाली महिला भएको र उनीहरू तथा डमी खेलाडीबीच पनि प्राविधिक समन्वय हुने गरेको अनुसन्धानमा खुलेको छ। डमी खेलाडीहरूले जितेको रकमको १० प्रतिशत हिस्सा पाउने व्यवस्था गरिएको थियो।
प्रहरीका अनुसार महाकाय समूहले यसअघि पनि भारत, नेपाल, श्रीलङ्का, भियतनाम र कम्बोडियामा यस्तै इभेन्ट सञ्चालन गर्दै ठगी गर्दै आएको पाइएको छ। यसअघि बौद्धस्थित प्राइड क्यासिनोमा पनि उनीहरूको संलग्नता देखिएको छ। त्यहाँ टेबल सञ्चालन गर्ने दावा शेर्पा उर्फ सेठ्ठी हाल काठमाडौँ प्रहरीको हिरासतमा छन्।
सुरेश महाजन र सेठ्ठीबीच आपसी कनेक्सन रहेको देखिएको प्रहरीको दाबी छ। महाजनले पशुपति दर्शन, साइड सिन र निःशुल्क होटल सुविधा समेटिएको प्याकेजमार्फत जुवाडेहरूलाई काठमाडौँ ल्याउने गरेको खुलेको छ। डमी खेलाडीहरूलाई अलफ्ट होटलमा राखिएको र इभेन्टका लागि भारतबाट ५० प्याकेट चिप्स जडान गरिएको तास तथा ४ सेट विशेष लेन्स ल्याइएको प्रहरीले जनाएको छ।
जुवाडेहरू बस्नका लागि अलफ्ट, र्याडिसन र मेरियट होटलमा ११० वटा कोठा बुक गरिएको पाइएको छ। पक्राउ परेकाहरूमाथि ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।