नेपालगन्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्षको कार्तिक १ गतेदेखि हालसम्म सवारी नियम उल्लङ्घनविरुद्ध कडाइ गर्दै व्यापक कारबाही गरेको छ । सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि ३९ सय ६६ वटा कारबाही गर्दा ३३ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार सोही अवधिमा जिल्लाभर २२० वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ११ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ८ जना पुरुष, २ जना महिला र १ जना बालक रहेका छन् । साथै दुर्घटनामा १९ जना गम्भीर घाइते र ३३९ जना सामान्य घाइते भएका छन् ।
दुर्घटना न्यूनीकरण तथा सुरक्षित सडक प्रयोगको उद्देश्यले ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार विभिन्न स्थानमा ३४५ पटक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ, जसबाट ३६ हजार ४५५ जना लाभान्वित भएका छन् ।
यस अवधिमा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन विभिन्न नयाँ तथा सुधारात्मक कामहरू पनि गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । आफैंले नम्बर प्लेट परिवर्तन गरी सञ्चालन गरेका ५८ वटा ईभी गाडी कारबाहीमा परेका छन् भने नम्बर प्लेट परिवर्तन गरी सञ्चालनमा रहेका १७ वटा ईभी गाडी यातायात व्यवस्था कार्यालय नेपालगन्ज पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ।
बाँके ट्राफिक प्रहरीका अनुसार चर्को आवाज गरी ध्वनि प्रदूषण फैलाउने ४६ वटा मोटरसाइकल लाई कारबाही गरिएको छ । साथै ६४ वटा सार्वजनिक यात्रुबहाक सवारी साधनमा भाडादर टाँस्न लगाइएको छ । अस्पष्ट नम्बर प्लेट भएका १२६ वटा सवारी साधनमा पुनः नम्बर लेख्न लगाइएको हो।
त्यसैगरी, आफैंले सिट थप गरी सञ्चालन गरिएका ३०० वटा सार्वजनिक सवारी साधनका ४६७ वटा सिट तथा मुडा हटाइएको छ । मानिस झुन्ड्याउन प्रयोग हुने गरी बनाइएका ६४ वटा म्याजिक भ्यानका फलामका डण्डी काटिएको छ। ओभरलोड बोकेका १३ वटा सवारी साधन नियन्त्रणमा लिएर पल्टी गराइएको बाँके ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार जेन्जी आन्दोलनका क्रममा क्षति पुगेका ट्राफिक लाइट मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ। साथै विभिन्न स्थानमा १४ वटा ट्राफिक सचेतनामूलक बोर्ड राखिएको छ । रातिको समयमा सवारी साधन देखिने बनाउन ११३२ वटा साइकल तथा अन्य सवारी साधनमा रिफ्लेक्टिभ स्टिकर टाँसिएको छ ।
मंसिर २६ गते कोहलपुर नगरपालिकाको सभाहलमा नागरिक सुनुवाइ कार्यक्रम समेत सञ्चालन गरिएको थियो । साथै चोरी भएको लु.प्र.०३–००१ प ३४१५ नम्बरको मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ।
यसैबीच, अवैध रूपमा सञ्चालनमा रहेका १८० वटा ई–रिक्सा नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । ट्राफिक प्रहरीले आगामी दिनमा पनि सवारी नियमको कडाइका साथ कार्यान्वयन गर्दै सडक सुरक्षा र दुर्घटना न्यूनीकरणमा निरन्तर काम गर्ने जनाएको हो ।