काठमाडौँ । प्रहरी प्रमुख आईजीपी दानबहादुर कार्कीले जेनजी आन्दोलनले अभिव्यक्त गरेको मूल भावना मुलुकभर सुशासनको माग रहेको बताएका छन्।
आज ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्त तथा ट्राफिक प्रहरी परिसरको भवन पुनर्निर्माणपछि आयोजित भवन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले सुशासनका लागि कानूनको शासन अपरिहार्य रहेको उल्लेख गरे। सुशासन कायम गर्न प्रहरी मात्र पर्याप्त नहुने र नागरिकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने उनले स्पष्ट पारे।
उनले भने, “जेनजी आन्दोलनले अभिव्यक्त गरेको विचार भनेको मुलुकभर सुशासनको माग हो। सुशासन हुनका लागि कानूनको शासन चाहिन्छ, र यसको अभिन्न अंग नै कानूनको शासन हो। यसका लागि प्रहरी मात्र पर्याप्त हुँदैन, नागरिकको भूमिका पनि उत्तिकै आवश्यक हुन्छ।”
आईजीपे कार्कीले नागरिकले आफ्नै गाँस काटेर र समय खर्चेर प्रहरी वृत्तको भवन पुनर्निर्माणमा योगदान दिएकोप्रति प्रशंसा गरे। समाजमा सकारात्मक परिवर्तन ल्याउने भावना भएका व्यक्तिहरूको आजको आवश्यकता रहेको उनको भनाइ थियो।
उनले भने, “नागरिकले आफ्नो गाँस कटाएर, घरको कामको महत्वपूर्ण समय छोडेर ‘सुरक्षा पहिला’ भन्ने भावनाका साथ यो निकायका लागि भवन निर्माण गरिदिनुभएको छ। यो भवन हस्तान्तरण औपचारिक मात्र हो, तर यसभित्रको भावना अत्यन्त महत्वपूर्ण छ। समाज परिवर्तन गर्ने सोच भएका यस्ता व्यक्तिको साँच्चिकै आवश्यकता छ।”
नागरिक र प्रहरीबीच सुमधुर सम्बन्ध कायम रहँदा यस्ता संरचना सदैव सुरक्षित रहने पनि उनले विश्वास व्यक्त गरे।