काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल,नेपालले १७ बुँदे ‘परिचालन नीति’ तय गरेको छ।सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी मनिष थापाका अनुसार निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन तय गरिएको नीतिअनुसार तोकिएको जिम्मेवारी त्रुटिरहित ढंगले निर्वाह गरिनेछ।
नीतिअनुसार निर्वाचनभन्दा एक महिनाअगाडि नै प्रत्येक निर्वाचन क्षेत्रमा सुरक्षा वेश स्थापना गरिनेछ। त्यस्तै, स्ट्राइकिङ र मोबाइल टोलीहरू १५ दिनअगाडिदेखि नै सक्रिय रूपमा परिचालन गरिने उल्लेख छ।
डीआईजी थापाले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार तथा कारागारबाट फरार कैदीबन्दी अझै नियन्त्रणमा नआएकाले यस पटकको निर्वाचन सुरक्षापक्षले थप चुनौतीपूर्ण हुने संकेत गरेको बताए।
२०८२ फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सशस्त्र प्रहरी बल, नेपालको परिचालन
मिति २०८२ फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफल बनाउन नेपाल सरकारले भरपर्दो सुरक्षा व्यवस्था प्रदान गर्ने नीति अनुरुप "प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२” अनुसार सशस्त्र प्रहरी बल, नेपालले तोकिएको जिम्मेवारी त्रुटिरहित ढंगबाट पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन उपलब्ध श्रोत र साधनको अधिकतम प्रयोग गरी प्रभावकारी परिचालन गर्नका लागि "प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सुरक्षा कार्यमा सशस्त्र प्रहरी बल नेपालको परिचालन नीति" तर्जुमा गरिएको छ ।
१. सबै निर्वाचन क्षेत्रहरुमा (अतिसंवेदनशील, संवेदनशील र सामान्य) सशस्त्र प्रहरी बल, नेपाल तोकिएको जिम्मेवारीमा परिचालन गर्ने,
२. निर्वाचन सुरक्षार्थ सुरक्षाको दोश्रो घेरामा रही अन्य सुरक्षानिकायसंग समन्वयात्मकरुपमा परिचालन गर्ने,
३. निर्वाचन सुरक्षा अनुशिक्षण तालिम सम्वन्धी पाठ्यक्रम तयार गरी निर्वाचनमा खटिनु पुर्व सम्पुर्ण सशस्त्र प्रहरी कर्मचारीलाई निर्वाचन सुरक्षा अनुशिक्षण तालिम दिने,
४. निर्वाचन सुरक्षा सम्वन्धित विषयवस्तुहरुमा सुपरिवेक्षण, समन्वय एवं सहजीकरणका लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा केन्द्रिय निर्वाचन सेल गठन गर्ने, प्रत्येक बाहिनी मुख्यालयमा बाहिनी निर्वाचन सेल गठन गर्ने साथै जिल्लाका अप्रेशनल जिम्मेवारीमा रहेका प्रत्येक गण/गुल्ममा क्रमशः गण/गुल्म निर्वाचन सेल गठन गर्ने,
५. निर्वाचन सुरक्षार्थ सशस्त्र प्रहरी कर्मचारीलाई मोवाईल, स्ट्राईकिङ्ग, QRT/रिजर्भ, निर्वाचनक्षेत्र सुरक्षा, सुरक्षा वेस, कमाण्ड पोष्ट र JEOC, कार्यालय सुरक्षा/स्ट्याण्डवाई, जिल्ला स्थित निर्वाचन कार्यालय, मुख्य/निर्वाचन अधिकृतको कार्यालय सुरक्षा लगायतका क्षेत्रमा आवश्यक वन्दोवस्तीसहित परिचालन गर्ने,
६. निर्वाचन क्षेत्रहरुको भौगोलिक अवस्था तथा सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी मोबाईल र स्ट्राईकिङ्ग टोली परिचालन गर्ने,
७. निर्वाचन विरोधी गतिविधी नियन्त्रण एवं आपराधिक कृयाकलाप नियन्त्रण गर्न सुचना आदान प्रदान लगायत परिचालनमा आवश्यकता अनुसार समन्वयात्मक रुपमा गर्ने,
८. समकक्षी सुरक्षा निकायसंग आवश्यक समन्वय एवं सहकार्य गरी सीमा इलाकामा प्रभावकारी रुपमा परिचालन गर्ने,
९. निर्वाचन आचारसंहिता पालना गराउने तर्फ सहयोगी भुमिका निर्वाह गर्ने,
१०. निर्वाचन क्षेत्र सहितको प्रदेशगत साथै जिल्लागत नक्सा तयार गरी निर्वाचन सुरक्षामा महत्वपुर्ण स्थानहरु अंकित गरी प्रभावकारी वनाई परिचालन गर्ने,
११. आम नागरिकको मताधिकारलाई सुनिश्चित गर्दै निर्वाचन विरोधी कुनै गतिविधी हुन नदिन सुचना संकलन तथा योजनावद्ध ढंगवाट परिचालन गर्ने,
१२. निर्वाचनको दिन सशस्त्र प्रहरी बल नेपाल नं १९ गण हे.क्वा. (विशेष कार्यदल गण) र सशस्त्र प्रहरी बल, नेपाल, नेपाल नं. २० गण हे.क्वा. (विपद् उद्धार उपत्यका गण) का QRT टोलीलाई तत्काल हेली लिफ्ट गर्न सक्ने गरी सशस्त्र प्रहरी बल, नेपाल नं. २० गण हे.क्वा. (विपद् उद्धार उपत्यका गण) मा तैनाथ राखे,
१३. QRT मा रहेको जनशक्तिलाई निर्वाचनको एक दिन अघि देखि निर्वाचनको एक दिनपछि सम्म हातहतियार तथा असवावका साधनहरु साथ युनिटको जिम्मेवारी क्षेत्रमा पर्ने रणनीतिक स्थानहरुमा सवारी साधन सहित परिचालन गर्ने,
१४. सशस्त्र प्रहरी बल, नेपालको कार्यालय रहेको जिल्लाको हकमा सो जिल्लाको अप्रेसनल कमाण्डको जिम्मेवारी प्राप्त कार्यालय प्रमुखले सम्वन्धित जिल्लाको ओभरअल कमाण्ड गर्ने र निजले जिल्ला कमाण्ड पोष्ट र अन्य सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय राखी निर्वाचन सुरक्षार्थ परिचालित टोलीलाई समन्वयात्मक ढंगमा परिचालन गर्ने,
१५. निर्वाचन सुरक्षार्थ परिचालन हुने साथै QRT मा रहने प्रत्येक टोलीलाई सवारी साधन तथा संचार साधन सहित तैनाथ गर्ने, सडक सञ्जाल नभएको निर्वाचन क्षेत्रहरुको हकमा सम्बन्धित युनिटबाट माग भए पश्चात आवश्यकता अनुसार बैकल्पिक यातायातको साधन व्यवस्था गर्ने,
१६. आवश्यक बन्दोवस्तीका सामग्री तथा सवारी साधन सहित निर्वाचनको १ महिना अगाडी देखि निर्वाचन क्षेत्र सुरक्षा वेश स्थापना गर्ने, स्ट्राईकिङ्ग तथा मोवाईल टोली निर्वाचनको १५ दिन अगाडी देखि आवश्यक वन्दोवस्तीका सामग्री तथा सवारी साधन सहित परिचालन गर्ने,
१७. माथि उल्लेखित नीति अनुरुप परिचालन गर्न भौगोलिक विकटता, बन्दोबस्ती, यातायात र ढुवानीको समस्याका साथै स्थानीय आवश्यकताको कारणले कठिनाई भएमा बाहिनी मुख्यालयहरुले प्रदेश सुरक्षा समन्वय समितिसँग आवश्यक समन्वय गरी प्रदेश कमाण्ड पोष्ट तथा निर्वाचन सेलले योजना बनाई केन्द्रीय निर्वाचन सेलको स्वीकृतिमा फेरबदल गर्न सकिनेछ ।