काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले हाल विभिन्न अनलाइन तथा पत्रपत्रिकामा प्रकाशित संगठन व्यवस्थापन तथा सर्वेक्षण (एमओएस) सम्बन्धी भ्रामक समाचारप्रति कडा आपत्ति प्रकट गर्दै संरचनागत परिवर्तनका बारेमा स्पष्ट तथ्य सार्वजनिक गरेको छ। संगठनले तीन वर्षसम्मको विस्तृत अध्ययन र छलफलपछि मात्रै नयाँ संरचना लागू गरिएको बताएको छ।
सशस्त्र प्रहरीका अनुसार पुनःसंरचना विद्यमान आवश्यकता, औचित्यता र ऐन–नियमावलीका प्रावधानअनुसार गरिएको हो। कर्मचारीको बृत्तिविकास, कार्यक्षमता वृद्धि र संगठनात्मक प्रभावकारितालाई लक्षित परिवर्तन हुँदाहुँदै अध्ययनरहित रुपमा खबर प्रकाशित गरिएको भन्दै संगठनले ती समाचार पूर्णतः यथार्थविहीन भएको जनाएको छ।
नयाँ एमओएसअन्तर्गत इन्टेलिजेन्स ब्युरोलाई एडीजीपी कमाण्डमा ३८ अधिकृतसहित स्तरवृद्धि गरिएको छ भने संगठनको प्रमुख क्षेत्र मानिने विपद् व्यवस्थापन महाशाखा पनि निर्देशनालयमा रूपान्तरण गरिएको छ। मानवअधिकार, लैंगिक मुद्दा, विभागीय कारबाही तथा अदालतसम्बन्धी कार्य प्रभावकारी सञ्चालनका लागि कानून समूहलाई पनि निर्देशनालय स्तरमा उकासिएको छ। यस प्रकरणमा गृहमन्त्री वा अन्य अधिकारीसँग जोडेर लेखिएका समाचारहरू ‘पूर्णतः काल्पनिक’ रहेको सशस्त्र प्रहरीको भनाइ छ।
उपत्यकाको सुरक्षालाई थप मजबुत बनाउन निलबाराही गणलाई रेजिमेन्ट गणमा, बाघभैरव गुल्मलाई गणमा र सांगीतिक तथा बाध्यवादन गुल्मलाई ‘सांगीतिक शिक्षालय’ मा स्तरोन्नती गरिएको छ। यी सबै युनिटहरूमा एसएसपी र एसपी तहका पद समायोजन गरिएको छ।
देशभरका १७ जिल्लाका अस्थायी गुल्म, ४५ सीमा सुरक्षा गुल्म, २१५ बीओपी तथा सातै प्रदेशका फिल्ड अस्पताल र कुरिनटार ट्रमा सेन्टर गरी ३९६ अस्थायी कार्यालयलाई स्थायी संरचनामा रूपान्तरण गरिएको छ। अब प्रशासनिक, कानुनी तथा बजेटीय प्रक्रिया थप सहज र व्यवस्थित हुने सशस्त्र प्रहरीको भनाइ छ।
प्राविधिक इन्जिनियरिङ समूहमा २३८ नयाँ दरबन्दी तथा लेखा, इन्जिनियरिङ र साधारण समूहमा ८ उपरीक्षक पद थपिएका छन्। पुनःसंरचनापछि ३ हजारभन्दा बढी कर्मचारीको तत्काल बृत्तिविकास होने संगठनले जनाएको छ।
सशस्त्र प्रहरी बलले संगठन व्यवस्थापनसम्बन्धी भ्रामक जानकारीमा नपर्न आग्रह गर्दै प्रस्तुत तथ्य नै आधिकारिक र यथार्थपरक आधार भएको दोहोर्याएको छ।