बाँके । बाँकेलाई पूर्णरूपमा अपराधमुक्त जिल्लामा रूपान्तरण गर्ने बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताएका छन् ।
एसपी अंगुर जिसीले जिल्लामा हुने साना तथा ठुला अपराधका घटना,अनैतिक क्रियाकलाप र गैरकानुनी गतिविधिलाई शून्यस्तरमा झार्ने दृढ प्रतिबद्धता व्यक्त गर्दै आएका छन्। उनले प्रहरी संगठनलाई थप सक्रिय, जिम्मेवार र जनमुखी बनाउनु नै आफ्नो पहिलो लक्ष्य रहेको स्पष्ट गरेका छन्।
एसपी जिसीले भने, “बाँकेलाई अपराधमुक्त, सुरक्षित र अनुशासित जिल्लाको रूपमा स्थापित गरेरै छोड्छु। गैरकानुनी तथा अनैतिक गतिविधि पूर्ण रूपमा बन्द गराउनेछौं। जनताको विश्वास जित्दै शान्ति–सुरक्षा मजबुत बनाउने हाम्रो मुख्य प्राथमिकता हो।”
उनका अनुसार जिल्लामा हुने आपराधिक समूहको नियन्त्रण, लागूऔषध कारोबार रोकथाम, अवैध ओसारपसार नियन्त्रण ,महिला तथा बालबालिकामाथि हुने हिंसामा शून्य सहनशीलता नीति, तथा समुदाय–प्रहरी साझेदारीलाई अझ सुदृढ बनाउँदै अपराध नियन्त्रणलाई संस्थागत रूपमै बलियो बनाउन विशेष कार्ययोजना लागू गरिनेछ।
प्रहरी प्रशासनलाई प्रविधिमैत्री, छरितो र सेवा–उन्मुख बनाउँदै जनतासँग प्रत्यक्ष समन्वय वृद्धि गर्ने योजनासहित एसपी जिसीले बाँकेलाई सुरक्षा–दृष्टिकोणले आदर्श जिल्लाको रूपमा अघि बढाउने प्रतिज्ञा व्यक्त गरेका छन्।