काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौँले हाल सञ्चालन गरेको विशेष “मोटरसाइकल चोरी नियन्त्रण अभियान” अन्तर्गत उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकल तथा स्कुटरहरू फेला पार्दै नियन्त्रणमा लिन सुरु गरेको छ। पछिल्ला दिनमा बढ्दै गएको मोटरसाइकल चोरी रोकथामका लागि प्रहरीले सवारी नम्बर, कागजात, मोडिफाइड पार्ट्स र पार्किङ क्षेत्रहरूलाई विशेष निगरानीमा राखेर सञ्चालन गरेको यो अभियानबाट उल्लेख्य परिणाम देखिन थालेको छ।
अभियानका क्रममा उपत्यकाका रात्री तथा दैनिक गस्ती, मोबाइल पाट्रोलिङ, सीसीटीभी अनुगमन र सूचनाका आधारमा काठमाडौंबाटै चोरी भएका दर्जनौंबढी मोटरसाइकलहरू फेला पारिएको प्रहरीले जनाएको छ। केही मोटरसाइकलहरू नक्कली नम्बर प्लेट राखेर चलाइएको अवस्थासहित भेटिएका छन् भने कतिपय सुनसान ठाउँमा छोडेर भागेका अवस्थामा पनि ट्राफिक प्रहरीले बरामद गरेको छ। फेला परेका सवारीसाधनहरू आवश्यक कागजात जाँच र सत्यापन प्रक्रियापछि क्रमशः वास्तविक धनीलाई जिम्मा लगाउदै अएको जनाएको छ।
यही अभियानमार्फत चोरीमा संलग्न व्यक्तिहरूलाई पनि ट्राफिक प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई विस्तृत अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा बुझाइएको छ। चोरी भएकै मोटरसाइकलहरू खोल्ने, नम्बर प्लेट बदल्ने, भाडामा लिएर भाग्ने र अवैध रूपमा पुनःबिक्री गर्ने समूहहरूलाई निगरानीमा राखेर नियन्त्रणमा लिन सफल भएको प्रहरीले बताएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अधिकारीहरूका अनुसार मोटरसाइकल चोरी रोकथामका लागि प्रहरीले नियन्त्रण गतिविधि अझ कडा रूपमा निरन्तर जारी राख्नेछ। प्रहरीले सवारीधनीहरूलाई सम्भব भएसम्म सुरक्षित पार्किङ प्रयोग गर्न, ह्विल-लक वा सुरक्षा उपकरण राख्न, घर–अगाडि वा सार्वजनिक स्थानमा अनसुरक्षित रूपमा सवारी छोड्न नहुने चेतावनी पनि दिएको छ।
ट्राफिक प्रहरीको भनाइअनुसार मोटरसाइकल चोरीको घटना रोक्न प्रहरीले सक्रियता बढाए पनि सवारीधनीको सतर्कता आवश्यक भएकाले कुनै पनि संदेहास्पद गतिविधि देखेमा तत्काल प्रहरीको १०० वा ट्राफिक हटलाइन १०३ मा खबर गर्न अनुरोध गरिएको छ।