सौरभ गिरी/नेपालगन्ज । बाँकेमा लागुऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै जिल्ला प्रहरी कार्यालयले पछिल्ला दुई महिनामा उल्लेख्य सफलता हासिल गरेको छ। प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले असोज ७ गते बाँके प्रहरीको कमाण्ड सम्हालेपछि लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै कडाइका साथ कारबाही अघि बढाएका हुन्।
पदभार ग्रहण गर्दै एसपी जिसीले प्रहरीका सबै तहलाई लागुऔषध कारोबारविरुद्ध “निर्ममता” साथ लाग्न र संलग्न जो–सुकैलाई पनि कानुनी दायरामा ल्याउन स्पष्ट निर्देशन दिएका थिए।उनकै निर्देशनअनुसार सञ्चालन गरिएको निगरानी र कारबाहीका क्रममा प्रहरीले कात्तिक २७ गते नेपालगन्जबाट करिब ६२ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद गरिएको मात्रा ठूलो परिमाणमध्ये एक हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार करिब दुई महिनाको अवधिमा मात्रै १६८ ग्राम २८० मिलिग्राम खैरो हेरोइन, ४ ग्राम चरेश, ३५ ग्राम गाँजा बरामद गरिएको छ। यस्तै, प्रतिबन्धित औषधि नाइट्राजेपाम ८०७ ट्याब्लेट, ट्रामाडोल १,०६४ क्याप्सुल र स्पास्मो १५२ ट्याब्लेट समेत प्रहरीले नियन्त्रणमा लिएको छ। उही अवधिभित्र दर्ता भएका २९ वटा मुद्दामा ३८ जनालाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ। प्रहरीले ती सबै घटनामा थप अनुसन्धान जारी राखेको जनाएको छ।
लागुऔषध नियन्त्रणमा कठोरता जारी
बाँके प्रहरीको तीव्र कारबाहीले जिल्लामा लागुऔषध कारोबारमा संलग्न समूहहरू कमजोर हुन थालेको सुरक्षास्रोतहरूको दाबी छ। एसपी जिसीले लागुऔषध कारोबारलाई ‘समाज बिगार्ने मुख्य कारक’ भन्दै यसविरुद्धको अभियानलाई अझ कडा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसैबीच, प्रहरी–प्रशासनका पछिल्ला सक्रियताले लागुऔषध नियन्त्रणमा कस्तो दीर्घकालीन प्रभाव पार्नेछ भन्नेमा सरोकारवाला निकायहरूलाई चासो बढेको छ।यसै विषयमा नगर प्रमुखदेखि प्रहरी प्रमुख लगायत अन्य सरोकारवालाहरूले के भनिरहेका छन्।
प्रशान्त बिष्ट (नगर प्रमुख-नेपालगन्ज उपमहानगरपालिका)
परिवार स्वयं सचेत भइरहनसके लागुऔषध दुव्र्यसनबाट छोराछोरीलाई जोगाउन सकिन्छ। "यदि अभिभावकले आफ्नो छोराछोरी कहाँ जान्छन्, के गर्छन् भन्ने कुरामा ध्यान दिए, उनीहरूलाई लागुऔषधतर्फ आकर्षित हुनबाट रोक्न सकिन्छ।” घर फर्किएका बेला छोराछोरीसँग कुराकानी गर्नु, उनीहरूले भोगिरहेका समस्या धैर्यपूर्वक सुन्नु, र उनीहरूसँग आत्मीय सम्बन्ध बनाउनु अत्यन्त महत्वपूर्ण छ। यसरी घनिष्ठ सम्बन्ध राख्दा मात्र उनीहरूको मनोस्थिति र समस्याहरू बुझ्न सजिलो हुन्छ। उनले विशेषगरी अभिभावकलाई अधिक जिम्मेवार र संवेदनशील बन्न आग्रह गर्छन्। लागुऔषध नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम अपरिहार्य रहेको र उपमहानगरपालिकाले यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि यस्ता खालका कार्यक्रमहरु प्रहरी लगायत सराेकारवालाहरूसँग समन्वय गरि उपमहानगरपालिकाले गर्नेछ।
तशर्थ: प्रहरी एक्लैले यो समस्याको समाधान गर्न सक्दैन, त्यसैले परिवार, समाज, समुदाय र स्थानीय तहसहित सबै पक्षहरूको समन्वित सहभागिता अत्यावश्यक छ।
एसपी अंगुर जिसी (बाँके प्रहरी प्रमुख)
लागुऔषध आज हाम्रो समाजको एक गम्भीर चुनौती बनेको छ। यसको कारण चोरी, लुटपाटदेखि अन्य जघन्य अपराधसम्म बढ्ने गरेका छन्। प्रहरी लागुऔषधका कारोबारी र प्रयोगकर्तालाई कानुनी दायरामा ल्याउन सक्रिय रहे पनि केवल कानुनी कारबाहीले मात्र दीर्घकालीन समाधान दिन सक्दैन।नेपालगन्जमा प्रायः दैनिकजसो लागुऔषधका घटनामा संलग्न व्यक्तिहरू पक्राउ परिरहेका छन्। खुला सीमाका कारण यहाँ यो समस्या झनै गम्भीर बनेको छ। छिटो पैसा कमाउने चाहना र नशाको दुष्चक्रमा फसेकाहरू पुनःसुधार हुन नसक्नु पनि एक प्रमुख कारण हो।
यस समस्याको प्रभावकारी समाधानका लागि प्रहरीको कारबाहीसँगै सरोकारवाला कार्यालय, संस्था तथा समुदायले जनचेतनामूलक कार्यक्रम र पुनःस्थापना गतिविधिमा विशेष ध्यान दिन आवश्यक छ। लागुऔषधविरुद्धको निरन्तर कारबाही र सबै पक्षको सहकार्यबाट मात्र यी गतिविधि नियन्त्रणमा ल्याउन सकिन्छ।
नवीन गिरी (नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष)
नेपालगन्जमा लागुऔषधविरुद्धको प्रहरी कारबाही प्रभावकारी र कडा हुनु आवश्यक छ, जसले समाजमा लागुऔषधको बिषयलाई गम्भीरताका साथ समेट्न सक्छ । पत्रकारको भूमिका भने अत्यन्त महत्वपूर्ण हुन्छ, किनभने उनीहरूले यस विषयमा जनचेतना फैलाउने, सही जानकारी दिन तथा प्रहरी र सरकारलाई दबाब सिर्जना गर्न मद्दत गर्न सक्छन् । यसका लागि पत्रकारहरूले निष्पक्षता र जिम्मेवारीका साथ रिपोर्टिङ गर्नुपर्छ, ताकि लागुऔषधविरुद्धको अभियानलाई जनसमुदायको समर्थन प्राप्त होस्। साथै, लागुऔषध निस्तेज पार्नका लागि विशेष कार्यक्रमहरू जस्तै विद्यालय र समुदायस्तरमा सचेतना कार्यक्रम, जागरूकता अभियान, पुनर्वास केन्द्रहरूको स्थापना र व्यवसायिक उपचार प्रणालीलाई थप बलियो बनाउने कदमहरू आवश्यक छन् । यससँगै, कडा कानुनी कारबाही, प्रतिबन्धित औषधिको निकासी र पुनःसिर्जन रोक्ने व्यवस्था र व्यक्तिहरूलाई सचेत बनाउने निरन्तर प्रयासहरूले लागुऔषधविरुद्धको लडाइलाई सफल बनाउन सकिन्छ ।
मीनराज खड्का (सन्तोष) -प्रवक्ता: राप्तीसोनारी गाउँपालिका
लागुऔषध दुर्व्यसन समाधान गर्न सबैभन्दा पहिले प्रभावकारी जनचेतना आवश्यक हुन्छ। युवालाई जोखिम र दुष्परिणामबारे शिक्षित गर्दै परिवार, विद्यालय र समुदायले निगरानी तथा सहयोगको वातावरण बनाउनु जरुरी छ। पुनःस्थापना तथा परामर्श सेवालाई सुलभ र गुणस्तरीय बनाउने, प्रहरी–समुदाय सहकार्य बढाउने र अवैध कारोबारमा कडाइ गर्ने उपायले पनि समस्या नियन्त्रणमा मद्दत गर्छ। संयुक्त प्रयास, सहयोग र सचेतताका माध्यमबाट मात्र लागुऔषध दुर्व्यसनलाई प्रभावकारी रूपमा समाधान गर्न सकिन्छ।
जागेश्वर बस्नेत (जनस्वास्थ्य अधिकृत-नेपालगन्ज उपमहानगरपालिका)
भारतीय बजारको नजिकको क्षेत्रमा अवस्थित नेपालगन्जमा खुला सीमाका कारण लागुऔषध सहजै भित्रिने चुनौतीका बीच, बाँके प्रहरीले सञ्चालन गरिरहेको लागुऔषधविरुद्धको कारबाही प्रशंसनीय छ। यस अभियानलाई प्रभावकारी बनाउन समुदायका सबैले प्रहरीलाई सहयोग गर्नु आबश्यक छ। युवा–युवती लागुऔषधको दुष्चक्रमा फँसिँदै अन्धकारतर्फ धकेलिरहेका बेला बाँके प्रहरीले सञ्चालन गरेको सक्रिय कारबाहीले समस्या केही हदसम्म नियन्त्रणमा आउने आशा जगाएको छ। जस्तै, नसर्ने रोगहरू समाजका प्रमुख चुनौतीका रूपमा उभिइरहेका छन्, त्यस्तै लागुऔषध दुव्र्यसन पनि गम्भीर सामाजिक समस्याका रूपमा फैलिँदै गएको छ। यस कारण, यसको नियन्त्रण र निर्मूलनमा प्रहरी मात्र पर्याप्त हुँदैनस स्थानीय तह, अन्य निकायहरू तथा सर्वसाधारण सबैको समान प्रयास आवश्यक छ। समयमै ठोस कदम चाल्न नसके भोलिका दिनमा सक्षम तथा दक्ष युवा जनशक्तिको अभाव सिर्जना हुनसक्छ। त्यसैले लागुऔषध दुव्र्यसन रोकथामका लागि व्यापक जनचेतना कार्यक्रम सञ्चालन गर्नु अत्यावश्यक छ।
लागुऔषध नियन्त्रणलाई प्रभावकारी बनाउन संघीय, प्रदेश तथा स्थानीय सरकारहरूले पनि प्राथमिकताका साथ जनचेतनामूलक कार्यक्रमहरूमा आवश्यक बजेट व्यवस्था गर्नुपर्ने देखिन्छ। साथै, हरेक परिवार तथा समुदायमा लागुऔषध दुव्र्यसनविरुद्ध सचेतता बढाउनुपर्छ, र वरपर संलग्न वा शंकास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई जानकारी गराई सहयोग गर्नु सबैको दायित्व हो।
अधिवक्ता चित्र बहादुर शाही (अध्यक्ष नेपालगन्ज उच्च अदालत बार एशोसिएशन)
लागुऔषध दुरुपयोग आज नेपाल मात्र होइन, विश्वभर फैलिएको गम्भीर महामारी हो। यसको असरले सामान्य नागरिकदेखि समाज, राष्ट्र र अन्तर्राष्ट्रिय समुदायसम्म सबैलाई पीडित बनाएको छ। विशेषगरी नेपाल–भारत खुला सिमानाका कारण नेपालमा लागुऔषधको समस्या झनै जटिल बन्दै गएको छ। यो समस्या रोकथामका लागि राज्य, राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय तथा प्रभावित परिवारहरूको सहकार्य अत्यावश्यक छ। यद्यपि नेपाल सरकारले २०३३ सालमै लागुऔषध नियन्त्रण ऐन लागू गरे पनि समस्याको दर उकालो लागिरहेको तथ्यांकले देखाउँछ। केवल अपराधी पक्राउ र मुद्दा चलाएर मात्र यो समस्या समाधान नहुने स्पष्ट भइसकेको छ। प्रभावित व्यक्तिको पुनःस्थापना, परामर्श र सामाजिक पुनर्संयोजनमा राज्यको भूमिका अझै प्रभावकारी हुन सकेको छैन।
आजको अवस्था धानको भुसभित्रको आगोजस्तै बनेको छ—देखिन नसक्ने तर भित्रैदेखि युवाशक्तिलाई खोक्रो बनाइरहेको। मौजुदा कानुन पनि समयानुकूल संशोधन आवश्यक देखिन्छ। यसका साथै अशिक्षा, गरिबी र बेरोजगारीजस्ता मूल समस्यालाई समाधान गर्दै युवालाई सकारात्मक मार्गमा लैजाने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो। खुला सिमानाको व्यवस्थापन, युवामाझ सचेतना र मनोसामाजिक परामर्श, र अनुसन्धान प्रक्रियामा वैज्ञानिक विधि (जस्तै—समयमै ब्लड स्याम्पल परीक्षण) प्रभावकारी हुन सक्छन्। अभियुक्तलाई सेवन वा कारोबारको आधारमा स्पष्ट पहिचान गरी उचित सजाय दिलाए मात्रै पुनःअपराध रोक्न मद्दत मिल्छ।
अन्ततः, लागुऔषधमुक्त समाज निर्माण सबैको साझा जिम्मेवारी हो—राज्य, समाज, परिवार र व्यक्तिको समन्वित प्रयासबाट मात्रै यो संकट कम गर्न सकिन्छ।