काठमाडौँ। जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका मध्ये अझै पनि पाँच हजारभन्दा बढी कैदीबन्दी फरार रहेको गृह मन्त्रालयले जनाएको छ। बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त तथ्यांक सार्वजनिक गरेका हुन्।
उनका अनुसार आन्दोलनका क्रममा देशभरका विभिन्न जेलहरूबाट १४ हजार ५५४ जना कैदीबन्दी फरार भएका थिए। तीमध्ये हालसम्म ९ हजार ४४१ जनालाई पुनः नियन्त्रणमा लिइएको छ भने बाँकी ५ हजार १३ जना अझै खोजीमा छन्।
गृहमन्त्री अर्यालले नेपाल प्रहरीले फरार कैदीहरूलाई समात्न देशव्यापी विशेष अभियान सञ्चालन गरिरहेको जानकारी दिए। उनले फरार व्यक्तिहरूको सूची सार्वजनिक गरि, उनीहरू कुनै पनि सरकारी सेवा लिन आएमा सेवा नदिन सबै निकायलाई निर्देशन दिइएको समेत बताए।
उनका अनुसार करिब दुई महिनापछि मन्त्रालयले फरार कैदीहरूको खोजीका लागि कार्यदल गठन गरेको हो। प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ र सुरक्षातहमा विशेष अपरेसन पनि सञ्चालनमा रहेको उनले उल्लेख गरे।
गृहमन्त्रीले फरार कैदी र लुटिएका हतियारलाई हालको प्रमुख सुरक्षा चुनौतीका रूपमा लिँदै सरकारले यी चुनौतीहरू पार गर्दै आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने प्रतिबद्धता जनाए।
त्यस्तै, उनले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई परिचयपत्रका आधारमा निःशुल्क उपचारको व्यवस्था गरिएको र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक तयारी भइरहेको जानकारी पनि दिए।