काठमाडौँ । नेपाल प्रहरीले नयाँ नेतृत्व पाएको छ। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पदभार सम्हाल्दै संगठनको मनोबल उच्च राखी जनअपेक्षाअनुरूप काम गर्ने प्रतिबद्धता जनाएका छन्।
गृह मन्त्रालयमा आज बिहान आयोजित विशेष समारोहमा ३३औँ प्रहरी महानिरीक्षकका रूपमा दर्ज्यानी चिन्ह ग्रहण गरेपछि कार्कीले सामूहिक नेतृत्व र सहकार्यको संदेश दिएका हुन्।
‘सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन गर्दै, मनोबल बढाउँदै जनताको अपेक्षा अनुरूप कार्यसम्पादन गर्ने प्रतिज्ञा गर्दछु,’ आईजीपी कार्कीले भने।
आईजीपी बन्ने प्रतिस्पर्धामा उनका ब्याचमेट राजन अधिकारी र डा. मनोज केसी पनि दाबेदार थिए। प्रहरी नेतृत्वको प्रतिस्पर्धामा प्रायः ‘अस्वस्थ वातावरण’ सिर्जना हुने आलोचना भइरहेका बेला कार्कीले त्यस इतिहासलाई तोड्दै ‘सामूहिक नेतृत्व’ को सुरुवात गर्ने घोषणा गरेका हुन्।
उनले हालैको ‘जेनजी आन्दोलन’ का क्रममा पनि नेपाल प्रहरीले देखाएको सक्रियता र सहनशीलतालाई संस्थाको शक्ति भनेका छन्।‘प्रतिकूल परिस्थितिमा पनि प्रहरी नागरिक सेवामा तत्पर रह्यो, जसले हाम्रो संस्थाको कर्तव्यनिष्ठा र सहनशीलतालाई पुनः पुष्टि गरेको छ,’ उनले उल्लेख गरे।
आईजीपी कार्कीले वित्तीय अपराध र साइबर अपराधलाई अहिलेका प्रमुख चुनौतीका रूपमा पहिचान गरे।
‘हाइटेक क्राइमको अनुसन्धान र नियन्त्रण गर्न अहिले प्रहरी नयाँ प्रकृतिका चुनौतीहरूसँग जुधिरहेको छ,’ उनले भने।
दार्शनिक हर्मन गोड्सेनलाई उद्धृत गर्दै कार्कीले प्रहरी सेवाको गुणस्तर देशको लोकतन्त्रको गुणस्तरसँग प्रत्यक्ष सम्बन्धित हुने बताए।उनले प्रहरीको मनोबल र जीवनस्तर सुधार आवश्यक रहेको पनि प्रष्ट पारे।
‘आधारभूत पोषण र सुविधा अझै पनि अपर्याप्त छन् — यो तथ्य सबैले महसुस गरेको कुरा हो,’ आईजीपी कार्कीको भनाइ छ।