घोराही । दाङमा गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय र घोराही बजारस्थित भानु चोकको प्रहरी विट तथा प्रहरी कार्यालय भवनमा आगजनी ,तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डीएसपी चक्रबहादुर शाहले ट्राफिक प्रहरी कार्यालय र प्रहरी विटमा तोडफोड तथा आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा जनालाई पक्राउ गरि अनुसन्धान थालिएको जानकारी दिएका छन् ।
दाङ प्रहरीका अनुसार ट्राफिक प्रहरी कार्यालय आगजनी , तोडफोड र लुटपाट घटनामा संलग्नलाई ५ दिन र प्रहरी विट आगजनी लगायतका कार्यमा संलग्नलाई ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको हो।
पक्राउ परेकाहरुमध्य जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आगजनी तथा लुटपाटमा संलग्न रहेकामा घोराही- १५ बस्ने २४ वर्षीय सुनिल थापा मगर, घोराही-१५ कै २४ वर्षीय कुनाल श्रेष्ठ, सोही स्थानकै २४ वर्षीय ईनाहित कुरेसी, घोराही-१५ कै १८ वर्षीय टेकम डाँगी, सोही उपमहानगरपालिकाको वडा नम्बर १५ का १८ वर्षीय बिबेक पुन मगर, सल्यानको शत्रेश्वरी गाउँपालिका- ४ का २६ वर्षीय अमर बहादुर वली, घोराही- १३ का २९ वर्षीय महेश घिमिरे र घोराही- ९ ढिकपुरका ३४ वर्षीय शरद बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
त्यसैगरी दाङ प्रहरीका अनुसार घोराही-१५ भानु चोकस्थित प्रहरी बिटमा तोडफोड तथा आगजनी गरेको आरोपमा पक्राउ पर्नेमा घोराही-१३ बस्ने २५ वर्षीय सन्दिप घर्ती रहेका छन् ।