तौलिहवा । मोटरसाइकल दुर्घटनामा नेपाल प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ। कपिलवस्तुको लुम्बिनी–तौलिहवा सडक खण्डको लवनीस्थित सुद्धोधन गाउँपालिका- ३ को वडा कार्यालय नजिकै दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा प्रहरी सहायक हवलदार रम बेलाश यादवको मृत्यु भएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार रुपन्देहीको रोहिणी गाउँपालिका-७ टिकर घर भएर हाल कपिलवस्तुको वाणगंगा नगरपालिका-४ कोपवामा कार्यरत सहायक हवलदार राम बेलाश चढेको लु २७ प २०८५ नं.को मोटरसाइकल र तौलिहवाबाट लवनीतर्फ आउँदै गरेको लु ८३ प ७६९२ नं. को मोटरसाइकल एक आपसमा ठोक्किएका थिए।
पछाडि सवार राम बेलाश चढेको मोटरसाइकल लवनीबाट तौलिहवातर्फ जाँदै गरेको अवस्थामा अर्को मोटरसाइकल ठोक्किएर पल्टिए लगत्तै लवानीबाट तौलिया जाँदै गरेको ना ६ ख ७७१९ नं. को ट्रकले पुनः ठक्कर दिएको कपिलवस्तु प्रहरीले जनाएको छ।
सहायक हवल्दार राम बेलाशलाई मोटरसाइकल र ट्रकको ठक्करपछि तत्काल तौलिहवा स्थित कपिलवस्तु अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।
कपिलवस्तु प्रहरीले दिएको अनुसार राम बेलाश चढेको मोटरसाइकलका चालक रोहिणीका ३१ वर्षीय निरञ्जन यादव र उनलाई ठक्कर दिने मोटरसाइकलमा सवार कालिकोटको शुभ कालिका गाउँपालिका- ५ का ३२ वर्षीय उमाकान्त अधिकारी घाइते भएका छन् ।
सहायक हवल्दार राम बेलाशलाई ठक्कर दिने मोटरसाइकल,ट्रक र कपिलवस्तुको बुद्धभूमि नगरपालिका- २ बडहराका ३२ वर्षीय चालक शम्भु थारुलाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ।
शुक्रबार दिउँसो दुर्घटनामा मृत्यु भएका सहायक हवल्दार राम बेलाशको शवलाई जिल्ला प्रहरी परिसरमा श्रद्धाञ्जली पश्चात् आज परिवारको जिम्मा लगाइएको कपिलवस्तु प्रहरीले जनाएको छ।