काठमाडौँ । देशभित्र र बाहिर अत्याधिक रुचाइएको टिकटकले नेपाल सरकारसँग प्रतिबन्ध फुकुवाको आग्रह गरेको छ । टिकटकले पाँचबुँदे प्रतिबद्धतासहित नेपाल सरकारलाई पत्राचार गर्दै प्रतिबन्ध फुकुवाका लागि आग्रह गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध हेर्ने प्रमुखले प्रतिबन्ध फुकुवा गर्न आग्रह गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई लेखेको पत्र दर्ता भएको छ ।
नेपालीले टिकटकलाई देशभित्र र बाहिर अत्यधिक रुचाएको पनि उल्लेख गर्दै टिकटकले प्रतिबन्ध फुकुवाको आग्रह गरेको हो । सामाजिक सद्भाव बिगारेको भन्दै गत २७ कात्तिकमा बसेको मन्त्रिपरिषद्ले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
विश्वव्यापी डिजिटल प्लाटफर्मका रूपमा प्रयोगकर्ता र प्लाटफर्मको सुरक्षा प्रत्याभूत गराउनु आफ्नो प्रमुख दायित्व रहेको टिकटकले पत्रमा उल्लेख गरेको छ । त्यही उद्देश्यका लागि ‘कम्युनिटी गाइडलाइन्स’ भनिने एक विश्वव्यापी सञ्जाल निर्माण गरेको जानकारी पनि टिकटकले गराएको छ । ‘विश्वभर ४० हजारभन्दा बढी सुरक्षा व्यावसायिक कर्मचारी नवीन प्रविधिलाई प्रयोग गरेर हाम्रो बलियो ‘कम्युनिटी गाइडलाइन’ कार्यान्वय गर्न सक्रिय छन् ।’ टिकटकले पत्रमा भनेको छ ।
सामग्रीको स्थानीय, सांस्कृतिक र कानुनी सन्दर्भप्रति आफू सचेत रहेको टिकटकले उल्लेख गरेको छ । नेपाल सरकारलाई पठाएको यसअघिको पत्रमा नेपालमा गत दुई वर्षमा यसतर्फ उठाएका कदमबारे विस्तारमा बताएको पनि टिकटकले पत्रमा भनेको छ ।
नेपालमा व्यवसाय निरन्तरताका लागि प्रमुख पाँच क्षेत्रमा ध्यान केन्द्रित गराउन र त्यसप्रति प्रतिबद्ध रहेको टिकटकले पत्रमा जनाएको छ । प्रतिबन्ध फुकुवाका लागि आग्रह गर्दै टिकटकले सहयोगको याचनासमेत गरेको छ ।
यस्ता छन् टिकटकका प्रतिबद्धता
नेपालको कानुनी प्रक्रियाप्रति प्रतिबद्धता जनाउँछौँ
सामग्रीको विषयमा व्यक्त चिन्ताहरूलाई सम्बोधन गर्न डेडिकेटेड फोकलप्वाइट प्रदान गर्ने, जसमा ती सामग्रीका बारेमा सीधै रिपोर्ट गर्न सकिनेछ ।
सामग्रीको ‘फिल्टरिङ’ र ‘मोडरेसन’अभिवृद्धिका लागि थप नेपालीभाषी स्रोत उपयोग गर्ने
देशव्यापी रूपमा इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान चलाउनेछौँ ।
हाई स्कुल र कलेज विद्यार्थीको प्राज्ञिक अवस्था सुधारका लागि शैक्षिक सामग्रीको डिजिटाइजेसनलाई जोड दिनेछौँ।