Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • जङ्गलमै बित्छ भेडा गोठालाको जीवन....
जङ्गलमै बित्छ भेडा गोठालाको जीवन....
नेपालकागज
नेपालकागज बिहीबार, असार १४, २०८०

डम्मर बुढामगर, ढोरपाटन । अघिअघि भेडाका बथान पछिपछि गोठाला । खाली पैतला, पसिनाले लुथु्रक्क भिजेका मैलिएका कपडा । काँधमा किलादाम्ला बोकेका केही बूढापाका मान्छेहरू यतिबेला सोलेडाँडा, देउराली, बागलुङ र पूर्वीरुकुमको सिमाना आसपासमा दैनिकजसो भेटिन्छन् । उनीहरू भेडीगोठाला हुन् । 

जेठ महिना लाग्नासाथ बेँसीबाट लेक चढेका उनीहरू अब असोज लागेपछि मात्रै गाउँ झर्छन् । ती ठाउँमा केही काठले त केही त्रिपालले बारेका स–साना गोठ पनि प्रशस्त देखिन्छन् । यही गोठमा बस्छन् ती गोठालेहरू । सहरबजारको कोलाहलभन्दा निकै टाढा रहेका उनीहरूलाई सुगम ठाउँको सेवा सुविधाले पटक्कै छुन सकेको छैन । 

हिउँद लागे बेँसी झर्ने, बर्खा लागे लेक चड्ने यी गोठालाको परम्पराजस्तै हो । एउटै परिवारले दुई सयदेखि बाह्र सयसम्म भेडा पाल्ने हुँदा उनीहरूलाई रङरमाइलोको कुनै मतलबै छैन । उनीहरू घुमफिर गर्ने भनेकै अग्ला–अग्ला पहाड, खोँच र बेँसी हो । 

देशमा जति ठूलो परिवर्तन आए पनि उनीहरूलाई त्यो परिवर्तनले कत्ति पनि छोएको छैन । उनीहरू आफ्नै संसारमा बाँचिरहेका छन् । बागलुङ, रोल्पा र रुकुमको सङ्गमस्थल पातीहाल्नेमा एक महिना अगाडि भेडा लिएर आउनुभएका पूर्वी रुकुमका सतबहादुर गुरुङ असारको १५ पछि त्यसभन्दा माथिल्लो क्षेत्र बुकी जाने योजनामा हुनुहुन्छ ।

बैसठ्ठी वर्षीय गुरुङ ४७ वर्षदेखि भेडापालन गर्दै आउनुभएको छ । बाउबाजेले गर्दै आएको पेसा आफूले अँगाल्दै आएको बताउने गुरुङले पढ्न, लेख्न पाउनुभएन । दुर्गम गाउँ सेवा सुविधाको पहुँचबाट टाढा हुँदा कृषि र पशुपालनको विकल्प नभएपछि भेडापालनमा लागेको उहाँ बताउनुहुन्छ । जमाना फेरिँदै गएसँगै मान्छेहरूले आफ्नो पेसासमेत फेर्दै आएको उहाँको भनाइ छ । 

पछिल्लो समय नयाँ पुस्ताले पशुपालनमा चासो नदिँदा भेडापालन व्यवसाय सङ्कटमा पर्न सक्ने गुरुङको आकलन छ । “गाउँमा मोटर गाडी आए, मान्छे पढ्न लेख्न थाले, जान्ने बुझ्ने भए । त्यही भएर होला, हामीहरूले जस्तो पशुचौपाया पाल्न छाडिसके, सहरबजार बस्ने, उतै कमाउने, उतै खाने गर्छन्, हाम्रो पालामा यस्तो सुविधा कहाँ थियो र ?” गुरुङले भन्नुभयो, “जुगजमानाअनुसार चल्नुपर्छ भन्छन् अहिलेका केटाकेटीहरू । गोठमा काम गर्न मान्दैनन्, उतिबेला पढाइ लेखाइको खासै महत्व नै थिए, पढ्ने उमेर लेकमा गाईभैँसी, भेडाबाख्रा चराउन हिँडियो, मर्ने बेलासम्म यो दुःखले छोडेन ।”

गुरुङका अहिले करिब पाँच सय हाराहारीमा भेडा छन् । अघिल्लो महिना बेमौसमी वर्षाका कारण चिसोले ४३ भेडा मरे । अहिले बथानमा रहेकामध्ये १९ वटा ब्याउने तयारी रहेको उहाँको भनाइ छ । दुई महिनालाई खर्च बोकेर लेक आएको भन्दै अब अर्को महिना गोठको रेखदेख गर्न लगाएर खर्चपर्च लिन बेँसी जाने गुरुङले बताउनुभयो । भेडापालन साह्रै दुःखजिलो पेसा भए पनि यसमा आफू सन्तुष्ट रहेको उहाँ बताउनुहुन्छ ।

निसीखोला गाउँपालिका–६ का वीरबल घर्तीमगरले पनि पातीहाल्नेभन्दा केही माथिल्लोपट्टि रिगताल सेरोफेरोमै गोठ राख्नुभएको छ । असार अन्तिम सातासम्म वीरबल यही क्षेत्रमै हुनुहुन्छ । वीरबल गोठमा सयौँ काला, सेता र खैरा रङका भेडा पनि भेटिन्छन् । यिनै भेडाको गोठालो गर्नु उहाँको दैनिकी हो । 

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गभन्दा केही माथिपट्टि घर्तीमगरको गोठ हुँदा अहिले बेँसीबाट सामान ल्याउन गाह्रो छैन । सानै उमेरदेखि भेडा पाल्दै आउनुभएका वीरबल बुढ्यौली लाग्दै गए पनि उहाँमा त्यो जोस र जाँगर भने उस्तै छ । 

चौध वर्षको उमेरदेखि भेडापालन गर्दै आउनुभएका उहाँ अहिले ५३ वर्ष पार गरिसक्नुभयो । हातखुट्टा चल्दासम्म र शरीरमा शक्ति हुँदासम्म भेडा नै पाल्ने सोचमा वीरबल हुनुहुन्छ । सामान्य लेखपढ गर्नुभएका उहाँले जीवनमा धेरै बाधा अवरोध पार गर्दै यहाँसम्म आइपुगेको बताउनुभयो । अहिले निसीखोलाको रिग, पातीहाल्ने, रोल्पा र रुकुमको सिमाना तिलाचन क्षेत्रमा भेडा चराउने गर्दै आउनुभएको छ । वीरबलका बाउबाजे र त्यस अगाडिका पुस्ताले पनि पशुपालन गर्दै आएका थिए । 

बाउबाजेले गर्दै आएको पशुपालनलाई आफूले निरन्तरता दिए पनि अहिलेका युवापुस्ताले पशुपालनमा चासो नदेखाएको वीरबल बताउनुहुन्छ । आफूले पनि कक्षा ३ पास गरेको सुनाउँदै शिक्षाको महत्त्व नबुझ्दा विद्यालय छोडेको र सानैदेखि भेडापालनमा लागेको उहाँको भनाइ छ । 

उहाँ बिहान बेलुकाको खाना पकाएर खान र रात बिताउनका लागि रिग क्षेत्रमै उहाँको काठ र त्रिपालले छाएको सानो छाप्रो छ । घर्तीले गोठै छेउमा बाँधेर राख्नुभएका तीनवटा कुकुर आफ्नो र भेडाको ‘सुरक्षा गार्ड’ हुन् । भेडा चोरी हुन र वन्यजन्तुबाट जोगाउनका लागि यी कुकुर काफी छन् । यो ठाउँ उच्च पहाडी क्षेत्रमा पर्छ । यो क्षेत्र करिब तीन हजार दुई सय मिटरको उचाइमा छ । 

वीरबल भेडा चराउँदै गर्दा २०५२ सालको जनयुद्धमा अपहरणमा पनि परेको सुनाउनुभयो । अपहरणमा परेर फर्किएपछि पनि उहाँले त्यही पेसालाई अँगाल्नुभयो । उहाँलाई कहिल्यै पेसा बदल्ने सोच आएन । “पहिले अरुले क ख पढ्ने गर्थे, हामीहरूले भेडाबाख्रा हेर्न जङ्गल जान्थ्योँ, मैले सानैदेखि भेडा चराउन थालेको हुँ, स्कुलमा तीन पढ्दा–पढ्दै गाउँको दाइले लौ लाहुरतिर जाउँ भन्यो, अनि बटौलीतिर गएर केही काम गरियो, १३ महिनामा घर फर्किएँ, फेरि स्कुल गएँ, स्कुल गएर तीन पास गरेँ, त्यसपछि छाडेर भेडा गोठाले भएँ, भेडा गोठालो गर्दागर्दै बिहे गरँे”, उहाँले भन्नुभयो, “जिजूबाजेदेखि नै भेडा पाल्दै आएका रैछन्, हामीले पनि त्यही गरियो, जमानाले गर्दा अहिलेका मान्छेले यस्तो गर्दैनन्, म २७ सालको हो, म पछिकाले भेडा पाल्नै छोडे ।”

रोगले सयौँ भेडाबाख्रा मरेपछि उहाँले केही समय भेडा पाल्न छोड्नुभयो । वर्षौँदेखि भेडासँगै रमाउँदै आएको त्यो मन कहाँ यत्तिकै बस्न सक्थ्यो र ? घर्तीले केही समय भेडा पाल्न छोडे पनि पुनः आठ वर्ष अगाडिदेखि पुरानै पेसालाई निरन्तरता दिन थाल्नुभयो । उहाँले आफूहरूको परम्परागत पेसालाई अहिलेका युवापुस्ताले बेवास्ता गरेको गुनासो गर्नुहुन्छ । 

घर्तीले भेडासँगै लेक बेँसी गरेर जीविका चलाउँदै आएको भन्दै अहिलेका पुस्ताले आफ्नो परम्परागत पेसा व्यवसायमाथि घृणा गर्न थालेको बताउनुहुन्छ । उहाँले विकासले गर्दा परम्परागत कुरा धेरै लोप हुँदै गएको र भेडापालन पनि विस्तारै हट्दै जान थालेको बताउनुभयो । घर्तीले अहिले गाउँका युवा विदेश जाने र सहरबजारमा बस्ने गर्दा पुराना परम्परागत पेसा–व्यवसाय पनि हराउँदै गएको उहाँको भनाइ छ ।  

बागलुङको तमानखोला गाउँपालिका–५ खुङ्नीका रनबहादुर सिर्पाली उमेरले सात दशक पार गर्नुभयो । उमेर घर्कँदै गए पनि उहाँमा काम गर्ने जोसजाँगर भने तन्नेरीको भन्दा कम छैन । बिहान उठेदेखि राति नसुतुन्जेलसम्म भेडाबाख्राको स्याहारसुसारमा लाग्ने सिर्पालीका दुई सय ५० बढी भेडाबाख्रा छन् । जाडो बढेपछि मङ्सिरमा बेँसी झर्नुभएका सिर्पाली गर्मीयाम सुरु भएपछि भेडाबाख्रा लिएर बुकी चढ्न थाल्नुभएको छ । सिपार्ली आफ्ना भाइ देवबहादुर सिर्पालीसँग बुकी चढ्ने तयारीमा हुनुहुन्छ ।

देवबहादुरका डेढ सय र रनबहादुरका साढे दुई सय गरी चार सय भेडा बुकी लैजाने तयारी छ । तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभानबाठ नर्जाखानी जाने सडक उनीहरूको भेडाले ढाकिएका छन् । ठूलो भेडाको बथानमा केही काला र केही खैरो रङका भेडा देखिन्छन् । यस क्षेत्रका अधिकांश स्थानीय पशुपालनमै निर्भर छन् । एकहत्तर वर्षीय रनबहादुर भेडापालनमा लागेको ६४ वर्ष भयो । सात वर्षदेखि भेडा गोठालो गर्दै आउनुभएका सिर्पालीको यात्रा अहिले पनि नडमगाई निरन्तर चलिरहेको छ ।

बाउबाजेको पेसालाई अँगाल्दै आउनुभएका रनबहादुर नयाँ पुस्ता भेडापालनमा नलाग्दा परम्परागत पेसा हराउना थालेकोप्रति चिन्तित हुनुहुन्छ । भाइ देवबहादुरले पनि सानै उमेरदेखि यही पेसामा आबद्ध हुँदै आउनुभएको छ । साठी वर्षीय देवबहादुर भेडापालनमा लागेको ५२ वर्ष भयो । आठ वर्षकै उमेरदेखि भेडा चराउन सुरु गर्नुभएका सिर्पाली अहिले दाइसँग सहकार्य गर्दै आउनुभएको छ । उहाँहरूले भेडा हुलमुलमा हराउने डरले सिङमा रातो, हरियोलगायतका रङ लगाइदिनुभएको छ । भेडापालन पुख्र्यौली पेसा भएको हुँदा यसको संरक्षण गर्नुपर्ने रनबहादुरको भनाइ छ ।

उहाँले आफ्ना पालामा अहिलेको जस्तो पढ्ने लेख्ने जमाना नभएको भन्दै जान्ने बुझ्ने भएदेखि नै गाईभैँसी र भेडाबाख्रा पाल्न थालेको बताउनुभयो । रनबहादुरले समय परिवर्तनसँगै गाउँघरमा पेसा पनि फेरिँदै गएको बताउनुभयो । आफ्ना बाउबाजेले कृषि र पशुपालन गर्न सिकाएको स्मरण गर्दै अहिलेका अभिभावकले पढ्न लेख्न र विदेश जान सिकाउने गरेको उहाँको भनाइ छ ।

“पहिले–पहिले एकै जनाको दुई–तीन हजार भेडा हुन्थे, अहिले त भेडापाल्ने मान्छे घट्दै गए, थोरैले मात्रै पाल्छन्, हामीहरूको जन्म नै भेडीगोठमा भयो, गोठमै जन्मेको, हुर्केको हुँदा हाम्रो पेसा भेडा पाल्ने भयो”, रनबहादुर भन्नुहुन्छ, “हामीहरूले अरु केही गर्न जानिएन, जानेको यही पशुचौपायाको गोठाला गर्न हो, दुःख पाउनेको कोखमा जन्म भयो, दुःख पाउने पेसा नै गर्नुपर्यो, सहरबजार त हाम्रा लागि बिरानो लाग्छ, दुःख भए पनि गोठ नै रमाइलो हुन्छ ।”

पछिल्लो समय युवापुस्ताले यो पेसा अँगाल्न नचाँहदा परम्परागत भेडापालन विस्तारै हराउँदै गएको छ । केही समय अगाडिसम्म बागलुङको उच्च पहाडी क्षेत्रहरूमा भेडा गोठाले र भेडाहरू प्रशस्त मात्रामा भेट्टाउन सकिन्थ्यो । पहिले–पहिले भेडीगोठ जाँदा धेरै जिल्लाका धेरै ठाउँका भेडी गोठालेको जमघट हुने गरेको तर पछिल्लो समय गोठाले कम भएको रनबहादुर बताउनुहुन्छ ।

भेडापालनबाटै देवबहादुरकोे परिवार चलेको छ । उहाँले पाँच छोराछोरी यही पेसाबाटै हुर्काउने र पढाउने गरेको बताउनुभयो । तीन छोरा र दुई छोरीको विवाहसमेत भेडा बेचेरै गरेको उहाँको भनाइ छ । 

आफूहरूले अहिलेसम्म भेडापालन गर्दै आए पनि छोराछोरीले यसतर्फ चासो नै नदिएकामा भने उहाँ चिन्तित हुनुहुन्छ । बूढापाकाले भेडा पाल्न नसक्ने अवस्थामा पुगेको भन्दै अबको एक दशकमा वनपाखा सुनसान हुने उहाँको भनाइ छ ।


प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्