काठमाडौँ । सिंहदरबार वैद्यखाना विकास समितिको बैंक अफ काठमाडौँ लुम्बिनीमा राखिएको रु एक करोड गायब भएको छ । 
उक्त रकम गायब भएपछि कर्मचारीबीच हल्लीखल्ली मच्चिएको छ । 
बैंकको मुद्दती खातामा राखिएको रकम कहाँ गयो भन्नेबारेमा जानकारी माग गरे पनि व्यवस्थापनले जवाफ दिएका छैनन् । 
अवकाश कोषमा राख्ने भनिएको रु एक करोड एनआइसी एसिया बैंकमा स्थानान्तरण गरी गायब बनाइएको कर्मचारीको गुनासो छ । 
समितिका पूर्व निमित्त कार्यकारी निर्देशक डा साह आफू आउनुभन्दा अघिको घटना भएकाले आफूलाई रु एक करोडका विषयमा थाहा नभएको बताउनुहुन्छ । 
समितिका लेखा अधिकृत रामप्रवेशप्रसाद जयसवाल भने रु एक करोड स्थानान्तरण गरी कार्यालयका नियमित काममा खर्च गरिएको दाबी गर्नुहुन्छ । 
त्यसबेला आफू लेखा अधिकृतको जिम्मेवारीमा नभएकाले यसको विस्तृत जानकारी भने आफूसँग नभएको उहाँको भनाइ छ ।
यो घटनाका विषयमा जिज्ञासा राख्दा समितिका पदाधिकारी तथा कर्मचारी बोल्न चाहँदैनन् । 
समितिका पदाधिकारी तथा कर्मचारीको सेटिङमा एक करोड गायब भएको चर्चा छ । 
रातारात एक करोड गायब हुँदा समेत संबंधित निकाय मौन छ ।