बर्दिया । बर्दिया प्रहरीले लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित ४ जनालाई पक्राउ गरेको छ ।
बढैयाताल गाउँपालिका २ फुटाह दशगजा स्थित भारतबाट नेपाल ल्याउँदै गरेको लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित उनिहरूलाई ईलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियाबाट खटिएको प्रहरी टोली र प्रहरी कार्यालय मैनापोखर मातहतको प्रहरी चौकी जमुनीबाट खटिएको टोलीले पक्राउ गर्न सफल भएको हो ।
उक्त प्रहरी टोलीले असोज २१ गते राति ७ः४५ बजेतिर भे ८ प ३८०९ नम्बरको मोटरसाइकलमा सवार बाँके जिल्ला खजुरा गाउँपालिका ४ बस्ने सिमोन बिक र वडा नं १ बस्ने ललित भुजेललाई चेकजाँच गर्ने क्रममा ४ ग्राम ७ सय मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेपछि उनिहरूलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियाले थप अनुसन्धान अगाडि बढाएको थियो ।
ईलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियाले गरेको थप अनुसन्धानको क्रममा उक्त लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ बाँके खजुरा गाउँपालिका १ मा बस्ने भानु सिग्देल र नेपालगन्ज उपमहानगरपालिका ४ मा बस्ने राजेश बिकले ल्याउन पठाएको भन्ने खुलेपछि असोज २४ गते अन्य दुई जनालाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।
अहिले बर्दिया प्रहरीले चारै जनालाई जिल्ला अदालत गुलरिया बर्दियाबाट लागू औषध मुद्दामा म्याद थप गरी, थप अनुसन्धान गरिरहेको प्रवक्ता प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो । ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख प्रहरी निरीक्षक कमल क्षेत्री हुनुहुन्छ ।
उहाँले आफ्नो कार्यभार सम्हाले यता मैनापोखर क्षेत्रमा हुने बिभिन्न आपराधिक घटनामा कमी आएको छ । विशेषत उहाँले कार्यभार सम्हालेकै १७ दिनमा पेन्डिङ केसहरू तथा लुटपाटका घटनामा संलग्नहरूलाई कानुनको दायरामा ल्याएर सो क्षेत्रका जनताको मन जित्न सफल भएको नाम नखोल्ने शर्तमा एक जनप्रतिनिधिले बताउनुभयो ।